जनार्जन खत्री
सर्लाही, पुस २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरमा वीभत्स हत्या गरिएका वन हेरालु (चौकीदार) को टाउको आइतबार बिहानसम्म पनि फेला पर्न सकेको छैन ।
सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा वन हेरालुको काम गर्ने राइटारखोरका ४७ वर्षीय रामइश्वर महतोको शनिबार हत्या भएको थियो । शनिबार बिहान ५ बजेतिर जङ्गलभित्र रुख काटेको आवाज आएपछि साइकल चढेर गस्तीमा निस्कनुभएका महतो दिउँसो मृत अवस्थामा फेला पर्नुभयो ।
धारिलो हतियारले वीभत्स हत्या गरिएका महतोको टाउको आइतबार बिहानसम्म पनि फेला पर्न नसकेको हो । महतोको टाउको बिनाको शव फेला परेको स्थान नजिक पोखरी रहेको छ ।
उहाँको हत्यापछि टाउको त्यहीँ फालेको हुन सक्ने आशङ्कामा खोजी गर्न लागिएको छ । प्रहरीले शनिबार राति नै माछा मार्न जान्ने मानिसहरुलाई प्रयोग गरेर पोखरीभित्र जाल हान्न खोजेको थियो, तर बाक्लो हस्सु, कुहिरो र शीतलहरका कारण राति सम्भव भएन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवम् डिएसपी सरोज राईले अब अहिले बिहान जाल हान्ने मान्छे ल्याएर मृतकको टाउको खोजी गर्न लागिएको गोरखापत्र अनलाइनसँग बताउनुभयो । प्रहरीले मृतकको टाउको गिँडिएको शव भने पोष्टमार्टमका लागि शनिबार मध्यराति प्रादेशिक अस्पताल मलङ्गवा लगिसकेको छ ।
घटनास्थलबाट रगत लतपतिएको एक थान बन्चरो बरामद भएको डिएसपी राईले बताउनुभयो । वनका चौकीदार महतोको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले शनिबार दिउँसो नै राइटरखोरकै एक स्थानीयलाई पक्राउसमेत गरेको छ ।
प्रहरीले ति शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको विषयमा केही खुलाएको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले शङ्कास्पद एक जना व्यक्ति पक्राउ परेका पुष्टी गर्नुभएको हो ।
सिडिओ कडरियाका अनुसार शङ्कास्पद व्यक्तिको कपडामा समेत रगत लतपतिएको पाइएको छ । पक्राउ गर्ने बेला नशालु पदार्थ सेवन गरेको अवस्थामा लठ्ठ रहेका ति व्यक्तिलाई अब अहिले बिहान प्रहरीले बयान लिने सिडिओ कडरियाको भनाइ छ ।
पोखरीमा जाल हानेर मृतकको टाउको खोज्न लाग्दा आइतबार बिहानैदेखि स्थानीयको भीड भइसकेको छ । प्रहरीले मध्यरातमा शव उठाउँदासम्म पनि स्थानीयहरु घटनास्थलमै बसे ।
ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले स्थानीयसमेत भएर मृतकको टाउको खोजी गर्न सहयोगका लागि तयार भएर बसेका बताउनुभयो । उहाँका अनुसार निर्ममतापूर्वक वन हेरालुको हत्यापछि स्थानीय वासिन्दा त्रसित र स्तब्ध छन् ।
वन हेरालुको हत्याको कारण खुलिसकेको छैन् । वनमा काठ तस्कर गर्ने व्यक्ति र व्यक्तिगत रिसइबी भएका व्यक्ति कस्ले हत्या गरेका हुन भन्ने विषयमा अनुसन्धान जारी नै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
वन हेरालु महतोको बीभत्स किसिमले हत्या गरिएको अवस्थामा टाउको गिँडेको शव फेला पर्नासाथ धनुषाको लालगढमा रहेको नेपाल प्रहरीको गणबाट तालिमप्राप्त दुईवटा कुकुरसमेत ल्याएर घटनास्थल वरपर घुमाइएको छ । मृतकाको टाउको फेला परे प्रहरी अधिकारीहरु घटनाको अझ सुक्ष्म अनुसन्धानमा केन्द्रित हुन पाउने जिल्लाका एक सुरक्षा प्रमुखले बताउनुभएको छ ।