• २१ पुस २०८२, सोमबार

बाँकेका थारु गाउँबस्तीमा माघीको तयारी तीव्र

blog

बाँकेको राप्तीसोनारी ४ धामपुरमा माघी पर्व मनाउने छलफल गर्दै थारु समुदाय । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, पुस २० गते ।
बाँकेका अधिकांश थारु गाउँ बस्तीमा माघी पर्वको तयारी तीव्र पारिएको छ । माघी आउन दस दिन मात्र बाँकी रहेकाले जिल्लाका अधिकांश गाउँबस्तीमा माघीको रौनक बढ्दै गएको हो ।

जिल्लाका अधिकांश गाउँबस्तीमा थारु पुरुष मासुका लागि सुँगुर खरिददेखि अन्य विभिन्न तयारीमा व्यस्त छन् भने महिलाहरु रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुना टपरी खुट्नमा व्यस्त रहेका छन् ।

थारु महिला पुरुषलाई अहिले गाउँ बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको पनि चटारो छ । माघी अघि नै सुँगुर ल्याएर राख्ने, रोटी पकाउनेलगायतका काम गरिसक्नुपर्ने हुँदा त्यसैमा व्यस्त रहेको बाँके मैटहवाका थारु अगुवा राजेन्द्र चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफूहरुको संस्कृति अनुसार सुँगुर मार्ने काम माघी आउन दुई तीन दिन बाँकी छँदा गरिने हुँदा त्यसका लागि तयारी भएरहेको छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका काम पनि सुरु भइसकेको छ ।”

बाँके फत्तेपुरका अगुवा जनक चौधरीका अनुसार गाउँघरमा अहिले माघीकै लागि सुँगुर घरघरमा बाँधेका देखिन थालेका छन् भने महिलाहरु दुना टपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्छन् ।

महिलाहरुले माघीमा जाँड र मासु खानका लागि दुना टपरी बनाउन लागेको बताएका छन् । बाँके विनौनाका दिपा चौधरीले माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्न लागेको बताउनुभयो ।

यस्तै, टिटिहिरियाकी आशा चौधरी माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त हुनुहुन्छ । परिवारका सदस्यहरुसँगै बसेर दुनाटपरी बनाउनमै व्यस्त रहनुभएका आशाले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेको बताउनुभयो ।

उहाँले एक महिना अगाडिदेखि नै पात र दाउराको जोहो गर्न थालेको बताउनुभयो ।

मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गर्नुभएका टिटिहिरियाकी अर्की युवती रश्मि चौधरीले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिकरी भने माघी आउन एक दिन बाँकी रहँदा मात्र बनाउने बताउनुभयो । अधिकांश महिलाले चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसकेको जनाएका छन् । थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठुलो पर्वको रूपमा लिइन्छ ।