कर्णाली, पुस २० गते । कवयित्री निरञ्जना चन्द (निरु)द्वारा लिखित कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’माथि विमर्श गरिएको छ । सिम्ताली एकता समाज सुर्खेतले शनिबार सुर्खेत वीरेन्द्रगनरमा आयोजित विमर्श कार्यक्रममा कविता सङ्ग्रहमाथि मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापकद्वय डा रेशम विष्ट र वासुदेव पाण्डेयले समीक्षा गर्नुभयो ।
कविता सङ्ग्रह ‘वनफूलको विद्रोह’माथि समीक्षा गर्दै डा विष्टले शब्द, शैली, विषयवस्तु र शील्पकलाका हिसाबले गद्य शैलीमा लेखिएको कविताले नारी चेत, सामाजिक समस्या, त्यसका भोगाइसँग अन्तरसम्बन्धित विषयवस्तु र वर्गीय समाजमा उत्पीडित वर्गहरूको आवाजको प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँले बहुरुपी विषयवस्तु समेटिएको कविता सङ्ग्रह सामाजिक क्रान्तिको द्योतक भएको जिकिर गर्नुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक तथा वरिष्ठ साहित्यकार वासुदेव पाण्डेयले राउटे सुन्दरीलाई विम्बका रूपमा ‘वनफूलको विद्रोह’ उतार्न खोजिएको टिप्पणी गर्नुभयो । मानवीय संवेदनाका ज्वारभाटाहरु छचल्किएको कवितामा विद्रोही आत्माको चेतहरु अभिव्यक्त भएको उहाँको भनाइ थियो । बहुसङ्ख्यक कविताका शीर्षकहरु नारीवादी भएको बताउँदै उहाँले समाजका संस्कार, परम्परा र प्रथाहरूबारे पनि उल्लेख गरिएको जनाउनुभयो ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार एवं साहित्यकार डा महेन्द्र मल्लले कविता नारीवादीजस्तो देखिए पनि एउटा पुरुष कति जिम्मेवारीको बोझले च्यापिएको हुन्छ र उसले पीडामा पनि आँसु देखाउन नसकेको यथार्थतालाई कविताका माध्यमबाट अभिव्यक्त गरिएको बताउनुभयो । समाजमा अभाव, सङ्कट र समस्याहरू उत्पन्न भएसँगै कवयित्री निरुजस्ता स्रष्टाहरु पनि जन्मँदै जाने तर्क गर्नुभयो ।
मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्काले आफ्नो सृजनाबाट कवयित्री निरञ्जना चन्द ९निरु०ले कर्णालीलाई मुलुकभर चिनाउन विशेष योगदना पुर्याएको बताउनुभयो । कविता सङ्ग्रहमा उहाँका ६१ कविता रहेका छन् । जुन कविता सङ्ग्रहमा समाजमा विद्यमान सबैखाले भावना, सोच, विचार, चिन्तन, भोगाइ, समस्या र चुनौतीबारे उल्लेख गरिएको छ ।
त्यस्तै, उक्त सङ्ग्रहमा मानवीय संवेदनाका ज्वारभाटाहरु छचल्किएका छन् । कविताले विशेषगरी महिला संवेदना, सामाजिक असमानता र किनारामा पारिएका वर्गको पीडालाई सशक्त र मार्मिक शैलीमा उतारेको छ । त्यसको साथै यसले नकरात्मक नभई आत्मअस्तित्वको खोजी र स्वतन्त्रताको उद्घोष गरेको छ । यसले स्त्री चेतना, प्रकृति प्रेम र सामाजिक परिवर्तनका बारेमा समेत बोलेको छ ।
कवयित्री निरञ्जनाले समाजको यथार्थलाई अध्ययन गरिएका कुरा पानामा उतार्दा र त्यसलाई अभिव्यक्त गर्दै जाँदा प्राप्त गरेको हौसलाले आफूसहित माटोलाई चिनाउने अवसर प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार मान्छेले भोगेका कष्ट, कहर, अन्याय, थिचोमिचो अनि जीवन विरोधी शृङ्खलाका प्रतिवादमा व्यङ्ग्य, विरोध, आक्रोश र सङ्घर्षको गर्जनमात्र नभई प्रकृति र सामाजिक परिवर्तनसँग सम्बन्धित विषयवस्तुहरू पनि कविता सङ्ग्रहमा समेटिएका छन् । रासस