गुणबहादुर रोका
सुलीकोट, पुस २० गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ३ का तीन गाउँका स्थानीय तीन सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय जलविद्युत आयोजनामा आएको समस्याका कारण चुमनुब्री प्रवेश गर्ने मुख्य स्थान जगतबजार, सल्लेरी भालुवन र पैयुँ गरी ७२ घरधुरीका बासिन्दा लामो समयदेखि विद्युतविहीन भएपछि टुकीको सहारामा बस्न बाध्य भएका हुन् ।
तीन गाउँका ७२ घरधुरीमा हाल विजुली छैन । स्थानीयस्तरमा निर्माण गरिएका लघु जलविद्युत आयोजनाको टर्बाइनमा प्राविधिक समस्या आएपछि विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको विशाल घलेले बताउनुभयो । केन्द्रीय प्रसारण लाइन अझैसम्म पनि यी गाउँमा नपुगेकाले वैकल्पिक स्रोतको समेत अभाव छ ।
‘‘विद्युत नहुँदा दैनिक जीवन कष्टकर बनेको छ,’’ स्थानीय घलेले भन्नुभयो, ‘‘विद्युत नभएपछि मोबाइल चार्ज गर्न समस्या हुने तथा बालबालिकाको पढाइमा समेत असर पर्ने गरेको छ ।’’
लघु जलविद्युत आयोजना मर्मतका लागि आवश्यक प्रविधि र सामग्री अभाव हुँदा लामो समयदेखि समस्या समाधान हुन नसकेको चुमनुब्री गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार टर्बाइन बनाउन बुटवल लानुपर्ने तथा दुर्गम क्षेत्र भएकाले पनि मर्मत कार्य ढिला भएको बताइएको छ ।
पालिकाका अध्यक्ष निमा लामाले आयोजनाको शीघ्र मर्मतका लागि पहल भइरहेको र अस्थायी रुपमा सोलार बत्ती उपलब्ध गराउने तयारी समेत भइरहेको जानकारी दिनुभयो । साथै दीर्घकालीन समाधानका लागि केन्द्रीय प्रसारण लाइन विस्तार गर्न सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।
अहिले उत्तरी गोरखाका सामागाउँदेखि जगतसम्म अधादर्जन गाउँमा विद्युत अबरुद्ध भएको छ । विद्युत आधुनिक जीवनमा आधारभूत आवश्यकता बनेको वर्तमान अवस्थामा दुर्गम गाउँका नागरिक अझै अन्धकारमा बस्नु पर्ने भएको स्थानीयको भनाइ छ ।