नवराज नेपाली
बागलुङ (गलकोट), पुस २० गते । पर्वत जिल्लामा रहेर लामो समयदेखि पत्रकारितामा क्रियाशिल माया अधिकारी बागलुङको आदर्श सञ्चार सहकारीमा स्थापित सिर्जनशील पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत हुनुभएको छ ।
पर्वतमा रहेर दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको शनिबार सम्पन्न १९ औं वार्षिक साधारण सभाका अवसरमा नगद १० हजार रुपियाँसहित पुरस्कृत गरिएको थियो ।
आदर्श सञ्चार सहकारी बागलुङका सह–सम्पादक तथा नेपाल पत्रकार महासंघ बागलुङमा उपाध्यक्ष सिर्जना पन्त र पत्रकार सन्तोष क्षेत्रीले वि.सं. २०७१ सालमा विवाह खर्च कटाएर स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट अधिकारी पुरस्कृत हुनु भएको हो ।
जनआन्दोलनसँगै पत्रकारितामा सक्रिय अधिकारी बागलुङको धौलागिरी दैनिक हुँदै अन्नपूर्ण पोष्टको पर्वत संवाददादता देखि हाल अकोराबको प्राविधिक रोडियो मेन्टरको रुपमा कार्यरत हुनुहुन्छ । अधिकारी हाल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्ष समेत रहनुभएको छ ।
समाजमा विद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय पन्त र क्षेत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षयकोष स्थापना गरेका थिए ।
उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ । अहिले उक्त कोषको रकम एक लाख पुर्याइएको छ । कोषबाट अधकिारी सहित ११ जना पत्रकार पुरस्कृत भइसक्नुभएको छ ।
पुरस्कार कोषबाट यस अघि पर्वतका पत्रकार सन्तोष थापा, लक्ष्मण सापकोटा, बागलुङका पत्रकारहरु दिल शिरीष, राम थापा, संगम घर्तीमगर, कोपिला कँडेल, खेमराज गौतम म्याग्दीका पत्रकार सन्तोष गौतम, हरिकृष्ण गौतम र मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली पुरस्कृत भइसक्नुभएको छ ।