कस्तो नेतालाई शासकीय भूमिकामा देख्न चाहनुहुन्छ, उसको विगत कस्तो छ, आफूले छानेका प्रतिनिधिले सोचे अनुसारको काम गर्न सकेन भने के गर्ने ? त्यसमा लेखाजोखा चुनावमा मतदान गर्नुअघि नै गर्नु पर्छ । त्यस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकार नागरिकमा मात्रै छ । कुनै नेताले चाहँदैमा त्यो पूरा हुन सक्दैन । जनताको सामूहिक निर्णयबाट जनप्रतिनिधि छान्ने अधिकारको उपयोग गर्ने माध्यम चुनाव मात्रै हो । यसको सही सदुपयोग गरिएन भने भोलि पछुताउनुपर्ने छ । माहात्मा गान्धीले भने जस्तै जनताले, जनताका लागि र निमित्त आफ्नो जनप्रतिनिधि छान्ने र जनप्रतिनिधिले जनताको हितमा काम गर्ने परिपाटी नै लोकतन्त्रको मुख्य आधारशिला हो । जनता सचेत भई निर्वाचनबाट आफ्नो लागि स्वच्छ, इमानदार, लगनशीलता र सक्रिय जनप्रतिनिधि छान्नु पर्छ । देशमा स्थिरता शान्ति अमनचयन कायम गर्नु तथा सुशासनबाट जनताका हक अधिकारको पक्षपोषण गर्न असल जनप्रतिनिधि छान्ने अवसरको पर्खाइमा हुन्छ, आमचुनाव । सामाजिक न्यायसहितको आर्थिक विकासको अनुभूति गर्न स्वच्छ र निर्भीकता साथ जनप्रतिनिधि छान्नका लागि चुनावमा नागरिक सक्रिय हुनु पर्छ । हाम्रोभन्दा राम्रो प्रतिनिधि छान्ने मुख्य उद्देश्य राख्नु पर्छ । चुनावपछि जनप्रतिनिधिले बहुमतका आधारमा शासकीय नेतृत्व गर्ने र जनताका लागि अहोरात्र खट्नुपर्ने हुँदा लोकतन्त्रको मुख्य भूमिकामा जनता रहनु पर्छ ।
लोकतन्त्रमा जनप्रतिनिधि छान्न चुनावलाई मुख्य आधार बनाउनु पहिलो सर्त हो भने चुनावपछिको शासकीय नेतृत्वले तोकिएको समयसीमासम्म जनताप्रतिको जिम्मेवारी, जफावदेहिता गरी सेवा प्रवाह प्रभावकारी बनाउनु दोस्रो महत्वपूर्ण पक्ष मानिन्छ । विश्वमा विकसित देशका नेतृत्व चयन र जनताप्रतिको जवाफदेहिता एवं जिम्मेवारीको विषय प्रभावकारी देखिन्छ । अल्पविकसित र केही विकसशील देशमा चुनावलाई मात्र लोकतन्त्रको अभ्यास मानिने र चुनावपछि जनताका मर्म बिर्सिने परम्परा छ । विशेष गरी दक्षिण एसियामा जनअपेक्षालाई भन्दा आफ्नो स्वार्थपूर्ति हुने प्रवृत्ति मौलाउँदो छ । नेपालको अवस्था पनि यस्तै प्रकृतिको भएकाले पटक पटक जनताले विद्रोह गरी शासकीय भूमिकाको आक्रोशपूर्ण विरोध सहनु परेको छ । जसका कारण जनधनको नोक्सानी मात्रै बेहोर्नु परेको छैन राज्यले सङ्कटको सामना गर्नु परेको छ । यस्तो अवस्था आउन नदिन जनताले सचेत भई चुनावी अभियानमा योग्य प्रतिनिधि छान्ने अवसरको पूर्ण उपयोग गर्नु पर्छ ।
जेनजीको आन्दोलन र त्यसमा भएको घुसपैठले देशका महत्वपूर्ण धरोहर ध्वस्त भए । तत्कालीन शासकीय सत्ताको गैरजिम्मेवारीपूर्ण कार्यका कारण विषम परिस्थिति उत्पन्न भयो । त्यसलाई सामान्यीकरण गरी आमचुनाव गर्ने अभिभारासहित नयाँ अन्तरिम सरकार अघि बढिरहेको छ । जनताले जेनजीको आन्दोलनको घुसपैठपछिको पीडा बिर्सन सकेका छैनन् । कलिला बालबालिका सुशासनको मुख्य एजेन्डासहित अघि बढ्दा अनाहमा ज्यान गुमाउनु बाध्य भए । कतिपय अहिले पनि घाइते अवस्थामा छन् । राज्यले धनजनको ठुलो क्षति बेहोर्नु प¥यो । अन्य आन्दोलनमा भएको आक्रोशभन्दा जेनजी आन्दोलनमा देखिएको आक्रोश र घुसपैठको वितण्डाले आम जनतामा नैराश्यता बढेको छ । आन्दोलनकारी पक्षको मागको व्यवस्थापन र घुसपैठको अपराधलाई फरक तरिकाले डण्डात्मक बनाउन आमचुनावबाट आउने परिणामबाट गठित शासकीय नेतृत्वले पक्कै जनताको त्यो निराशामा मलहमपट्टि लगाउने नै छ । आगामी दिनमा यस्ता घटना हुन नदिन जनता र शासकीय प्रणाली सचेत र सर्तक हुनुपर्ने दबाब छ । देशमा स्थिरता र शान्ति कायम गर्न र जनतामा उत्साह ल्याउन आमचुनावलाई प्रभावकारी बनाउनुपर्ने छ ।
सर्वप्रथम फागुन २१ मा हुने चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्ष लाग्नुपर्ने छ । चुनावपछि स्थिरता, सुशासन र आर्थिक विकासका आधार तय गर्ने दरो प्रतिबद्धता पनि जनताले चाहेको छ । दलका केही व्यक्ति चुनावप्रति शङ्का गरिरहेका छन् । त्यो कमजोर मानसिकताको उपज हो । जनतामा जस्तो प्रभाव पारेको छ त्यसको नतिजा चुनावबाट आउने हो । जेनजी आन्दोलनमा लुटिएका हतियार र कैदीबन्दी भागेको अवस्थालाई मात्र शान्ति सुरक्षामा चुनौती देख्नु हुन्न । सरकारले शान्तिपूर्ण रूपमा चुनाव गराउने प्रतिबद्धता गरेपछि शङ्का गरिरहनु आवश्यक छैन । विघटित संसद् पुनस्र्थापना हुने नहुने भन्ने विषय अदालतको मामला हो । हामीले त्यो विषयलाई प्राथमिकता दिनु जरुरी छैन । अदालतमा विचाराधीन रहेको विषयमा बहस गर्नुभन्दा चुनाव कसरी सफल बनाउने भन्नेतिर सबैको अर्जुनदृष्टि हुनु आवश्यक छ ।
जेनजीको एकीकृत अवधारणा नहुँदा आन्दोलन र अनसनका क्रियाकलाप भइरहेका छन् । जनाधार विनाको शासकीय व्यवस्था बलियो हुन सक्दैन । हामीले तोकिएको मितिमै चुनाव सम्पन्न गरेर सरकारलाई ससम्मान बिदा गर्नु पर्छ । राजनीतिक शक्तिबाट निर्वाचित बहुमतको सरकार गठनपछि सबै समस्याको समाधान खोज्नु पर्छ । चुनावमा हौसिने, बिक्ने अनि पछि पछुताउने, गाली गलौजमा समय बर्बाद गर्ने प्रवृत्ति यद्यपि छ । यस्तो अवस्थामा सुधार ल्याउन आमजनता सचेत हुनु पर्छ ।
नेपालको बिशम परिस्थितिलाई लम्ब्याउनु हुँदैन । जनताप्रति जवाफदेही र जिम्मेवार सरकार बनाउन पनि चुनाव अनिवार्य भएको हो । जनअपेक्षा र राज्य स्रोतको सामथ्र्यताको व्यवस्थापन गरी जीवनस्तर सुधार गर्न प्रभावकारी शासकीय भूमिका आवश्यक छ । शासकीय नेतृत्वले राम्रा कामको मात्र जस लिने र बिग्रे भत्केका कामको जिम्मेवारी नलिने भन्ने हुँदैन । आमचुनावमा जनताले जवाफदेही र जिम्मेवार सरकार बनाउने अवसरको उपयोग गर्न सक्नु पर्छ । यसअघि दाग लागेका कुनै पनि नेतालाई संसद्मा पठाउनु हुन्न । तब मात्र शासकीय कामकारबाही पारदर्शी हुने छ । दण्डहीनताको अन्त्य गरी जनतामा कानुनी राज्यको प्रत्याभूति गर्नु पर्छ । उपेक्षित एवं अन्य वर्ग समुदायको शासकीय भूमिकामा सहभागिताको अवसर बढाई सामाजिक न्यायका लागि सक्षम शासकीय नेतृत्व चयन गर्ने जिम्मेवारी जनताको हो । त्यो परीक्षामा पास हुन सकिएन भने भोलि पनि विध्वंस निम्तिने खतरा रहिरहन्छ ।
जनताका आधारभूत आवश्यकता पूर्ति गरी जनजीविका र उद्यमशीलताको अवसरबाट आर्थिक विकासको आधार तय गर्न सक्षम र प्रतिबद्ध शासकीय नेतृत्व चयन गर्न जनकर्तव्य हो । विकास भएन, स्रोतको दुरुपयोग भयो, अनियमितता र भ्रष्टाचार बढ्यो भन्ने धारणा र सोच बदल्न कुशल नेतृत्व चाहिएको हो । विश्वको आर्थिक विकासको प्रवाहको फाइदा लिन सक्ने नेता मुलुकले खोजेको छ । जनजीविकाको सहजीकरणसँगै नयाँ उद्यम विकासको नवीनतम सोचको आधार र उपयोग रणनीतिको उत्कृष्ट अवसर बनाउने नेतृत्व छान्न सक्यौँ भने मुलुकले पनि फड्को मार्ने छ । रोजगारीका लागि बिदेसिनुपर्ने स्वदेशमा अवसर नदेख्ने प्रवृत्ति न्यून गर्ने एवं हाम्रो पर्यटन, जलस्रोत, जडीबुटी, खनिज, हस्तकला, अन्य औद्योगिक उत्पादनको प्रवर्धन गर्न र लाभ लिने सोच भएको नेतृत्व मुलुकले खोजेको छ । आर्थिक विकासबिना नागरिकले लोकतन्त्रको अनुभूति गर्न सक्दैनन् । सक्षम जवाफदेही र जिम्मेवार नेतृत्वबिना आर्थिक विकासको लाभ लिन पनि सकिँदैन । योग्य नेतृत्व चयन गर्ने अवसरको भरपुर फाइदा लिन सचेत भई चुनावमा सहभागिता जरुरी छ । जनताले चुनावमा कसैको लहलहैमा लागेर होइन, सोचविचार गरेरै मतदान गर्नु पर्छ । हिजोको परिस्थिति पुनः निम्तिन नदिने शासक चाहिएको छ । त्यसका लागि योग्यतम् व्यक्ति वा दललाई बिजयी गराऔँ ।
चुनाव घरीघरी आइरहँदैन । पाँच वर्षमा एक पटक हुने चुनावमा पनि विवेक पु¥याएनौँ भने त्यसले धेरै समयका लागि पिरोल्ने छ । समयमा जनता जागरुक भई असल नेतृत्व छानौँ । हाम्रो निर्णयमा मुलुकको भविष्य निर्भर छ भन्ने सोच प्रत्येक मतदाताले मतदान गर्नुअघि सोच्नु पर्छ । चुनावमा आवेग र प्रलोभनमा भुल्ने र पछि पछुताउने एवं गालीगलौजमा उत्रिने समय हामीसँग छैन । नयाँ कि पुरानो भन्ने छुट पनि हामीलाई छैन । नयाँ पनि सबै राम्रै हुन्छन् भन्न सकिन्न । सकारात्मक सोचका साथ शान्ति, सुशासन र विकासको आधार तय गर्ने महत्वपूर्ण अवसरको सदुपयोग गर्न सक्ने व्यक्ति चुन्यौँ भने पक्कै स्थिरता हुने छ । जनताले राम्रो र असल शासकीय नेतृत्व चयन गरे शासनव्यवस्था बलियो भई नयाँ घटना दुर्घटनाको सामना गर्नु पर्ने छैन । विगतका घटना दोहोरिन नदिउँ भविष्यको सुन्दर मार्गचित्र कोरौँ । शान्ति, स्थिरता, सुशासन र विकासको मूल मर्मको आधार सुनिश्चित गरौँ । त्यसका लागि चुनावलाई तोकिएको समयमा सम्पन्न गर्न आम नागरिकले पनि आआफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ ।