टोपलाल अर्याल
गुल्मी, पुस २० गते । गुल्मीका चार सयभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिएको छ । गुल्मी अस्पतालमा सञ्चालित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको आयोजना र नेपाल हृदय रोग निवारण प्रतिष्ठान, गुल्मीको सहजीकरणमा तम्घासस्थित महेन्द्र मावि र रेसुङ्गा माविका विद्यार्थीहरुको मुटु परीक्षण गरिएको हो । महेन्द्र माविमा कक्षा ७, ८ र ९ कक्षाका २२५ तथा रेसुङ्गा माविका कक्षा ७ र ८ का २०५ जना विद्यार्थीको मुटु परीक्षण गरिएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले जनाएको छ । संस्थाले त्यसबाहेक गुल्मी अस्पतालमा लागु भएको पेन प्लस कार्यक्रमबाट नियमित सेवाग्राही २१ जनाको पनि मुटु परीक्षण गरेको छ ।
परीक्षण गरिएका विद्यार्थीहरुमध्ये छ जनामा मुटुको समस्या भेटिएको छ । जसमा चार जना विद्यार्थीलाई औषधी खाएमा निको हुने र दुई जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको आयोजकले जनाएको छ । मुटुमा समस्या देखिएपछि करिब १०/११ वर्षका छात्र र छात्राको शल्यक्रिया गर्नुपर्ने भएको हो । उनीहरुमा मुटुसम्बन्धी बाहिर कुनै समस्या नदेखिए पनि जाँच गर्दा मुटुसम्बन्धी समस्या देखिएको हो । पाँच वर्षदेखि १५ वर्षसम्मका बालबालिकाहरुमा मुटुको बाथ अर्थात मुटुमा सङ्क्रमण हुने सम्भावना भएकाले विद्यार्थीहरुको मुटु परीक्षण गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर विभव बत्यालले बताउनुभयो । मुटुरोग विशेषज्ञ डा. अजय अधिकारी र डा. सुमन्त बन्जाडेले विद्यार्थीहरुको मुटु परीक्षण गर्नुभएको थियो ।
शल्यक्रिया गर्नुपर्ने दुई जना विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएकाले संस्थाले निःशुल्क उपचार समेत गरिदिने भएको छ । उनीहरुको आवश्यक कागजातको आधारमा बिरामीको एक जना कुरुवासहित यातयात खर्च, आवास तथा खाना खर्च र शल्यक्रिया एवम् औषधी खर्च संस्थालेनै व्यहोर्ने संस्थाका कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी दिनुभयो । गुल्मी अस्पतालको ओपिडी नम्बर १५ मा गत वर्षको चैत २१ गतेबाट पेन प्लस कार्यक्रम लागु गरिएको छ । जसको सहकार्यमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले मुटुरोगीका लागि निःशुल्क उपचार गर्दै आएको छ ।
युनिसेफसँगको सहकार्यमा संस्थाले बिरामी र एकजना कुरुवाको यातायात खर्च, आवास एवम् खाना, बिरामीको शल्यक्रिया र औषधी निःशुल्क रुपमा प्रदान गर्दै आएको गुल्मी अस्पतालमा पेन कार्यक्रम मार्फत उपचार तथा सहजीकरण गरिरहनु भएका डा. विजय पाण्डेले बताउनुभयो । नसर्ने रोगहरुको उपचारका लागि जिल्ला अस्पतालमा पेन प्लस कार्यक्रम कार्यक्रम सुरु भएको थियो । यो कार्यक्रमअन्तर्गत दम, प्रेसर, मुटु, पाठेघर लगायतका बिरामी लाभाम्बित हुने डा. पाण्डेको भनाइ छ ।