• १६ भदौ २०८१, आइतबार

तबलावादक भण्डारीको नाममा सङ्गीत प्रतिष्ठान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते । वरिष्ठ तबलावादक अच्चुतराम भण्डारीको नाममा सङ्गीत प्रतिष्ठान स्थापना भएको छ । वरिष्ठ गीतकार तथा निर्देशक यादव खरेलले अच्चुतराम भण्डारी सङ्गीत प्रतिष्ठानको एक समारोहबीच शनिबार उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनुभएका खरेलले अच्चुतराम भण्डारी सङ्गीत प्रतिष्ठानले गीत-सङ्गीतको महत्त्वपूर्ण वाद्यवादन तबला र तालको महत्त्वलाई अझ प्रभावकारी ढङ्गले आम सङ्गीत पारखीसम्म पु-याउनका लागि महत्त्वपूर्ण कार्य गर्ने बताउनुभयो । 

उहाँले वाद्यवादनमध्ये तबला निकै कठिन वाद्यवादन भएकाले तबला वाद्यवादक उत्पादन गर्नका लागि प्रतिष्ठानले प्रशिक्षण सञ्चालन गरिरहेकोमा खुसी व्यक्त गर्दै प्रतिष्ठानलाई सबै तह र तप्काबाट सहयोग गर्न पनि आग्रह गर्नुभयो ।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रहनुभएका वरिष्ठ कलाकार हरिहर शर्माले सङ्गीत र कलाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै स्वाभिमानी बनाउन सिकाउने बताउनुभयो ।

कार्यक्रम प्रतिष्ठानका संरक्षक तबला गुरु एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपप्राध्यापक अच्चुतराम भण्डारीले आफूले तबलामा नै जीवन सुम्पेकाले प्रतिष्ठानमार्फत विपन्न वर्गका बालबालिकालाई निःशुल्क तबला प्रशिक्षण गराई सार्थक जीवन अगाडि बढाउन र सङ्गीतमा तबलाको इतिहासलाई अझ प्रगाढ बनाउनका लागि जीवनभर नै सक्रिय रहने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानमा प्रशिक्षण लिइरहेका ७ वर्षदेखि ७० वर्षसम्मका तबला प्रशिक्षार्थीले विभिन्न प्रस्तुति गर्ने गर्नुभएको छ ।