• २१ पुस २०८२, सोमबार

तेइस कलाकारको चित्रकला

blog

वसन्त पराजुली

नारायणगढ, पुस २० गते । भरतपुर महानगरपालिका–२२ को आयोजनामा पश्चिम चितवनको भरतपुरको पटिहानीमा सांस्कृतिक चित्रकला कार्यशाला तथा कविता सिर्जना कार्यक्रम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र भरतपुर प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजना भएको कार्यक्रममा चित्र निर्माण गर्दै चित्रमा कविहरूले कविता सिर्जना गर्नुभएको थियो । दुई दिनसम्म चलेको कार्यक्रममा कविहरूले चित्रमाथि लेखेको कविता वाचन समेत गर्नुभयो । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कलामार्फत देशलाई जोड्दै समृद्धिको यात्रामा लैजाने अभियान सुरु भएको जानकारी दिनुभयो । “प्रज्ञा प्रतिष्ठान जहिले पनि कला र संस्कृतिको संरक्षणमा लागेको छ । कला र संस्कृतिले नै देशमा समृद्धि ल्याउन सहयोग पुग्ने छ,” उहाँले भन्नुभयो । प्रतिष्ठानका प्राज्ञ दिनेश्वर महत्तोले थारू पुरुष रुखमा अडेस लागेर सुस्ताएको छेवैमा राप्ती नदीको मनमोहक दृश्य र वरपर तोरी बारी र थारू गाउँलाई क्यानभ्यासमा उतार्नुभएको थियो । जुन कार्यशालाको उत्कृष्ट चित्र बनेको थियो । 

कार्यक्रममा बोल्दै कवि भूपिनले कलाकारले थारू लोकलाई जसरी सुन्दर रूपमा उतारे त्यसै गरी कविहरूले शब्दमा उतारेका बताउनुभयो । कार्यक्रममा २३ वटा चित्र र त्यसमाथि कविता तयार भएका कलाकार केशवराज खनालले बताउनुभयो । कलाकारहरूले कोर्नुभएको चित्रलाई सङ्ग्रहालयमा सुरक्षित गरिने ललितकला प्रतिष्ठानले जनाएको छ ।