भरतपुर समाचारदाता
भरतपुर, पुस २० गते । सरकारले सुरक्षाको प्रत्याभूति गराए नेपालको निजी क्षेत्र थप लगानी गर्न तयार रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ ।
चितवन उद्योग वाणिज्य सङ्घको ५९ औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले यसमा महासङ्घले पनि समन्वय गर्ने बताउनुभएको हो । कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई सम्मानको दृष्टिले हेर्नुपर्नेमा जोड दिनुभयो ।
व्यवसायी तथा लगानीकर्तालाई सामन्तीका रूपमा हेर्ने प्रवृति हुँदा आन्दोलनको निसानामा निजी क्षेत्र पर्न थालेको उहाँको भनाइ थियो । रोजगारी सिर्जना र अर्थतन्त्रमा ठुलो योगदान निजी क्षेत्रकै रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्ने उहाँको धारणा थियो । “ढुक्कसँग लगानी गरेर राज्यलाई कर तिरेर आम्दानी गर्न सक्ने वातावरण सरकारले बनाउनु पर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले नेपालको आर्थिक विकासमा उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण भएको बताउनुभएको थियो । लगानीका लागि सुरक्षित वातावरण बनाउने जिम्मेवारी सरकारको हुने उहाँहरूको भनाइ थियो । दुईबर्से कार्यकालका लागि अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न हुने छ ।