• २१ पुस २०८२, सोमबार

‘लगानीको वातावरण अपरिहार्य’

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, पुस २० गते  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक विकासका लागि लगानीको वातावरण बनाउनु अपरिहार्य भएको बताउनुभएको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको २५ औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले लगानीकर्ताको लगानी सुरक्षित नभएसम्म उद्योग व्यवसाय फस्टाउन नसक्ने बताउनुभयो । 

प्रदेशभित्रका उद्योग व्यवसायलाई सुदृढ पार्न प्रदेश सरकारले सबै सरकारी निकायमा स्थानीयस्तरमा उत्पादन भएका उपलब्ध नेपाली उत्पादनलाई मात्र प्रयोग गर्नुपर्ने निर्णय कार्यान्वयन गरेको जानकारी दिनुभयो । उद्योग व्यवसाय दर्ता, सञ्चालन र नियमनमा झन्झटिलो प्रक्रिया, कानुन र ऐनहरू खारेज गरेर सहज, सरल र व्यवसायमैत्री नितिनियम बनाउनुपर्नेमा उहाँको जोड थियो । 

कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्थले औद्योगिक क्षेत्रभित्र रहेका उद्योगको समस्या समाधानमा गरिरहेको बताउनुभयो । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष एजाज आलमले उद्योगी व्यवसायीको मनोबल बढाउने, लगानी सुरक्षित गर्ने तथा उत्पादन वृद्धि गर्ने खालका नीति निर्माणमा जोड दिनुभयो ।