• २१ पुस २०८२, सोमबार

लोपोन्मुख चिनो घरबाटै बिक्री

blog

मुगु समाचारदाता

मुगु, पुस २० गते । मुगुको विभिन्न गाउँबस्तीमा फल्ने लोपोन्मुख रैथाने खाद्यबाली चिनो अहिले घरबाटै बिक्री हुन थालेको छ । स्थानीय व्यापारी जिल्लाका गाउँबस्तीमै आएर चिनो खरिद गर्न थालेपछि किसान पनि खुसी भएका छन् । छायानाथ रारा नगरपालिका–६ का स्थानीय व्यापारी खड्क्या ऐडी चिनोले औषधीको काम गर्ने प्रचारपछि खोजेर खानेको सङ्ख्या बढ्न थालेको बताउनुभयो । गाउँघरमा मन नपराएको रैथाने चिनो पछिल्लो समय नेपालका विभिन्न सहरमा माग अत्यधिक बढ्दै गएको उहाँले बताउनुभयो । 

सुर्खेत, काठमाडौँ, बुटवल, नेपालगन्ज,भैरहवाका विभिन्न सहरमा चिनोको उपभोक्ता बढ्दै गएपछि उहाँले मुगुबाट चिनो सङ्कलन गर्ने सङ्कलनकर्ताबाट मगाएर सहरमा बेच्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार धेरै जसो मधुमेह र उच्च रक्तचापका बिरामीले चिनोको खोजीमा आउने भएकाले सहर बजारमा यो चामलको माग बढेको छ । छायानाथ रारा नगरपालिका–७ का किसान रामबहादुर रावलका अनुसार कुनै समयमा चिनोको माग नहुँदा गाउँमा यसको खेती नै हराएको थियो । पछिल्लो समय स्थानीय व्यापारी चिनो खोज्दै गाउँमै पुग्न थालेपछि अहिले चिनो उत्पादन गर्नेको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ । स्थानीय व्यापारीलाई प्रतिकेजी ६० रुपियाँका दरले चिनो बिक्री हुँदै आएको छ । 

सरकारले आव २०७९/८० को बजेटमा कर्णाली प्रदेशका रैथाने बाली संरक्षण गर्ने घोषणा गरेको थियो तर सरकारको उक्त नीति खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुमा लागु भएको छैन । कम्पनीको मुगु शाखाका प्रमुख केशव गिरीका अनुसार जिल्लाका रैथाने बाली खरिद गर्नलाई कुनै पनि त्यस्तो पत्र नआएको हुनाले जिल्ला शाखाबाट यस्ता रैथाने बालीहरू किसानबाट खरिद हुन नसकेको हो । छायानाथ रारा नगरपालिकाका सूचना अधिकारी लोगराज भट्टका अनुसार कृषि विकास कार्यालय शाखा मुगुको तथ्याङ्क अनुसार जिल्लामा २१ हेक्टर जमिनमा रैथाने बाली चिनो लगाएका छन् । जसबाट ४२ मेट्रिक टन उत्पादन भएको छ । उहाँका अनुसार नगरभित्रका किसानलाई रैथाने बाली उत्पादनमा संरक्षण गर्नलाई अनुदानको व्यवस्था गरिएको छ ।