• २० पुस २०८२, आइतबार

थारू संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य

blog

महोत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्य । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, पुस १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोडेर अघि आयआर्जनमा अघि बढाउनुपर्ने बताउनुभएको छ । थारू कल्याणकारिणी सभा दाङद्वारा शनिबार घोराहीमा आयोजित माघ सांस्कृतिक महोत्सव–२०८२ को उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको संरक्षण तथा प्रबर्धन गर्दै व्यावसायिक रूपमा पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले थारू समुदायको कला, संस्कृति र परम्परामा आफैंमा सम्पन्न रहेको उल्लेख गर्दै यसको प्रवर्धनमार्फत आर्थिक समृद्धिसँग जोड्न सकिने धारणा व्यक्त गर्नुभयो । त्यस्तै थारू समुदायको कला, सीप, संस्कृति, सभ्यता र परम्परालाई बचाउन नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ। 

“प्रदेश सरकारको बजेटबाट थारू संग्रहालय निर्माण गरेका छौं” उहाँले भन्नुभयो, “यसलाई देशभरका थारू समुदायको भेषभूषा, संस्कृति र परम्पराबारे सिक्न सकिने साझा केन्द्रका रूपमा विकास गर्ने हाम्रो अपेक्षा छ” उहाँले भन्नुभयो । मुख्यमन्त्री आचार्यले थारू संस्कृतिलाई माघ पर्वमा मात्र सीमित नराखी वर्षैभरि प्रस्तुत गर्दै व्यवस्थित रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्नेगरी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ। थारू संस्कृति जोगाएर राख्ने समुदायप्रति आभार व्यक्त गर्दै उहाँले प्रदेश सरकारले वर्षेनी माघ पर्वको अवसरमा विभिन्न कार्यक्रम गर्दैआएको जानकारी दिनुभयो । “यहाँको मौलिक कला र संस्कृति लुम्बिनी प्रदेशको वैभव हो, यसको संरक्षण र प्रवर्धन गर्नु हामी सबैको दायित्व हो” उहाँले भन्नुभयो।


थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरी, जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरी, नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाली कम्युनिस्ट पार्टीकी प्रतिनिधि सुस्मिता चौधरी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, मटाँवा महासंघ घोराहीका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

“आर्थिक जागरण व सांस्कृतिक रूपान्तरण हमार अभियान, सामाजिक न्यायसहितके समृद्धिम हमार योगदान” मूल नारासाथ आयोजना गरिएको एकदिने माघ सांस्कृतिक महोत्सवमा ७३ वटा मघौटा, छोक्रा, लठवा र हुर्डुङ्ग्या नाच प्रस्तुत गरिएको सांस्कृतिक उपसमितिका संयोजक लक्ष्मण चौधरीले जानकारी दिनुभयो । महोत्सव उद्घाटनपूर्व घोराही बजारमा थारू समुदायको मौलिक भेषभूषा, झाँकी तथा बाजागाजासहित बजार परिक्रमा गरिएको थियो ।