• २० पुस २०८२, आइतबार

स्थलगत योजना अनुगमनमा प्रदेश मन्त्री

blog

त्रिपुरासुन्दरी नगरपालिका –१ मा सिंचाई आयोजनाको अनुगमन । तस्बिर : मन्त्री बुढाको सचिवालय

राजु लामिछाने

रुकुमपश्चिम, पुस १९ गते। कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा लगायतको टोली प्रदेश सरकारले सञ्चालनले गरेका विभिन्न योजनाको स्थलगत अनुगमनको लागि रुकुमपश्चिम हुँदै डोल्पा पुगेको छ। 

शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ बगेना सञ्चालित खानेपानी तथा सिंचाइका योजनाको अनुगमन गरेर शनिबार डोल्पा जिल्लाका विभिन्न योजना अनुगमन गरिएको छ। मन्त्री बुढाका प्रेस संयोजक लक्ष्मण केसीका अनुसार बगेनामा भएको स्थानीयवासीसँगको छलफलमा मन्त्री बुढाले सरकारले लगानी गरेका योजनामा स्थानीयले चासो राख्न र प्रभावकारी रुपमा सम्पन्न गर्न आह्वान गर्नुभएको छ। उहाँले ग्रामीण क्षेत्रमा खानेपानी, जलस्रोत र सिँचाइका योजनाहरुलाई प्राथमिकता दिन आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो। सक्रिय जनसहभागिता विना योजनाको सहि कार्यान्य यन र दिगोपना नहुने मन्त्री बुढाको भनाइ छ। 

मन्त्री बुढाको टोलीले शनिबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा निर्माणाधीन कोटजिउँला सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरेको छ। सो क्रममा मन्त्री बुढाले सरोकारवाला र स्थानीयवासीसँग योजनाको प्रगति, कार्यान्वयनमा देखिएका समस्या र आगामी कार्ययोजना बारेमा छलफल गर्नुभएको छ। 

यसैगरी मन्त्री बुढाले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय डोल्पामार्फत कार्यान्वयन भइरहेका योजनाको बारेमा जानकारी लिनुभएको छ। मन्त्री बुढालाई कार्यालय प्रमुख प्रकाश गिरीले चालु आर्थिक वर्ष ०८२/०८३ मा स्वीकृत योजनाको कार्यान्वयन र प्रगतिको बारेमा जानकारी गराउनुभएको छ। 

मन्त्री बुढाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जनहितको पक्षमा काम गर्न निर्देशन समेत दिनुभएको छ। उहाँले प्राप्त योजना समयमै सम्पन्न गर्न तथा गुणस्तरियतामा ध्यान दिनुपर्ने बताउनुभएको छ। मन्त्री बुढाले योजनामा सबै समुदाय र क्षेत्र समेट्न र बेरुजु घटाउनतर्फ ध्यान दिन समेत निर्देशन दिनुभएको छ।