जानु पाण्डे
कपिलवस्तु, पुस १९ गते । आउँदो निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुमा प्रहरीले सुरक्षा तयारी तीव्र पारेको छ । निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित जिल्लाभर सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित जिल्लाभर सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको बताउनु भयो ।
निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर सुरक्षा सतर्कता बढाइएको छ । शान्ति सुरक्षा कायम राख्न र जनतालाई सुरक्षा प्रत्याभूति दिलाउन लामो तथा छोटो दूरीका पैदल गस्ती वृद्धि गरिएको छ । मुख्य चोक, संवेदनशील क्षेत्र तथा सार्वजनिक स्थलहरूमा सिसिटिभी क्यामरामार्फत निगरानीसमेत कडा पारिएको छ ।
जेनजी आन्दोलनपछिको अवस्थालाई गम्भीर रूपमा लिएर सुरक्षा रणनीति कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ । यसैगरी आन्दोलनका क्रममा कपिलवस्तु कारागारबाट फरार भएका ४३० कैदी बन्दीमध्ये हालसम्म ३०९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकी फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनु भयो । प्रहरीले सामाजिक सद्भाव भड्काउने प्रयास गर्ने व्यक्ति तथा समूह, सामाजिक सञ्जाल तथा प्रत्यक्ष गतिविधिमार्फत समाजमा अशान्ति फैलाउन खोज्ने प्रवृत्तिमाथि निगरानी बढाएको छ । शान्ति सुरक्षामा असर पार्ने कुनै पनि गतिविधिलाई कानुन अनुसार कारबाही गरिने सिंहले स्पष्ट पार्नु भयो ।
प्रहरीका अनुसार जिल्लाका १८ मतदान केन्द्र थप भई ४९० केन्द्र कायम भएको जनाएको छ । मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ । संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रमा थप सुरक्षाकर्मी परिचालन गरिने तयारी समेत गरिएको छ ।