अनिल पराजुली
हेटौँडा, पुस १९ गते । हेटौँडा उपमहानगरपालिका–१७, गौरीगाउँमा भएको आगलागीमा परेर १५ हजारभन्दा बढी चल्ला नष्ट भएका छन् । शुक्रबार साँझ करिब ४ बजेर ४५ मिनेटको समयमा भएको आगलागीमा १५ हजार १८२ वटा चल्ला मरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट करिब २२ लाख रुपियाँ बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनु भयो । उहाँका अनुसार खोरमा राखिएका तीन दिनका १६ हजार ८२ वटा चल्लामध्ये ९०० वटा चल्लाको उद्धार गरिएको थियो । बाँकी चल्ला आगलागीमा जलेर नष्ट भएका हुन् ।
हेटौँडा उपमहानगरपालिका–८, कमाने बस्ने ४१ वर्षीय राजु अधिकारीले सञ्चालन गरेको पशुपति पोल्ट्रीफर्ममा चल्लालाई ब्रुडिङ गर्ने क्रममा प्रयोग गरिएको ग्यास बुडरको तापक्रम अत्यधिक बढ्दा भुइँमा ओछ्याइएको भुसमा आगो सल्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगलागीबाट मानवीय तथा अन्य भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको अस्थायी प्रहरी पोस्ट हटियाले जानकारी दिएको छ ।