• १९ पुस २०८२, शनिबार

चिदिचौर अन्तर्राष्ट्रिय खेलाडीको तस्बिरमय बन्दै

blog

पूर्व अन्तर्राष्ट्रिय खेलाडीको भित्तामा तस्बिर कोर्दै रेसुङ्गा नगर । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस १९ गते ।
जिल्लास्तरीय खेलहरु हुने चिदिचौर खेल मैदान अन्तर्राष्ट्रिय खेलाडीहरुको तस्बिरमय हुने भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले अहिले नगरभित्र जन्मिएका अन्तर्राष्ट्रिय खेलाडीहरुको तस्बिर कोरिरहेको छ । झपटसिंह भुजेल पूर्व अन्तर्राष्ट्रिय बक्सिङ्ग खेलाडी हुनुहुन्छ । गुल्मीको रेसुङ्गा नगरपालिका–८ घर भएर हाल बेलायतमा बस्ने भुजेल सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन खेलकुद, सन् १९८८ को दक्षिण कोरियाको ओलम्पिक खेलमा सहभागी भएका हुनुहुन्थयो ।

दुई वर्ष हङकङ च्याम्पियन, दुई वर्ष बेलायती सेना र संयुक्त च्याम्पियन, काठमाडौँमा भएको एसियन इलाइट च्याम्पियनसिपमा गोल्ड मेडल प्राप्त गर्नुको साथै सन् १९९१ मा बेस्ट बक्सर अफ द इग्ङल्याण्ड हुनुुभएको थियो ।

त्यस्तै, ज्ञानेन्द्र प्रसाद शेरचन पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुनुहुन्छ । रेसुङ्गा नगरपालिका–८ का शेरचन २०२४ साल माघ ७ गते जन्मिनु भएको थियो । सन् १९९० देखि १९९६ सालसम्म नेपालको राष्ट्रिय फुटबल टिमको मिड फिल्डरबाट खेल्नु भएको थियो । सन् १९९३ मा बङ्गालादेशको ढाकामा आयोजित छैठौं दक्षिण एसियाली फुटबल प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउन सफल हुनुभएको थियो । साथै शेरचन आफ्नो जीवनकालमा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागीता जनाउनुभएको थियो ।

प्रेम कुँवर पूर्व अन्तराष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ । उहाँ रेसुङ्गा नगरपालिका–२ मा जन्मिएर हाल संयुक्त राज्य अमेरिका रहनु भएको छ । कुवँर अन्तर्राष्ट्रिय भलिबल खेलमा सन् १९८६ देखि १९९२ सम्म (चिन, कोरिया, थाइल्याण्ड, इन्डोनेसिया, भारत, पाकिस्तान, बङ्गलादेश) लगायत अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता एसियन खेल र साउथ एसियन खेलमा सहभागी हुनुहुन्थ्यो । गुल्मी जिल्लाकै पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलाडीको रुपमा रहनु भएका कुँवर अहिले अमेरिकामै भलिवल प्रशिक्षक रहनु भएको छ ।

बद्रीप्रकाश श्रेष्ठ पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हुनुहुथ्यो । गुल्मीको रेसुङ्गा नगरपालिका–१ मा २०२७ सालमा जन्मिनु भएको ५५ वर्षीय श्रेष्ठको २०८२ वैशाखमा मृत्यु भएको थियो । उहाँ नेपालको तर्फबाट जर्मन र बङ्गलादेश लगायतका देशमा भएका भलिबल प्रतियागिताहरुमा खेल्नु भएको थियो ।

तम्घास बजारको सौन्दर्यकरणका लागि विभिन्न स्थानमा ‘वाल पेन्टिङ्ग’ गरिरहेको छ । तम्घासको मुख्य चोकका जिल्ला प्रशासन कार्यालय र अदालतको पर्खालहरुमा रेसुङ्गाको महिमा झल्किने एक दर्जन बढि तस्बिर कोरिएको छ । भने जिल्ला प्रहरी कार्यालयको पर्खालमा रेसुङ्गा नगरपालिकाभित्र जन्मिएर अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलमा सहभागी खेलाडीहरुको तस्बिर निर्माण भइरहेको छ । खेल क्षेत्रको विकास, पुराना खेलाडीहरुको सम्मान र नयाँ प्रतिभाहरुको उर्जाका लागि तस्विर कोरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले नगरसँगै सोमपाल कामी, अर्जुन कुमाल लगायतका गुल्मेली अन्तर्राष्ट्रिय खेलाडीको तस्बिर राख्ने योजना रहेको बताउनुभयो ।