२०८२ साल पुस ५ गते शनिबार सबल गुरुङ र म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थित भैरवकुण्डतिर लाग्यौँ । जोरपाटीको नारायणटारबाट प्रतिव्यक्ति आठ सय रुपियाँ तिरेर बगामसम्मको टिकट काट्यौँ । सार्वजनिक बस बगामसम्म मात्र पुग्ने भएकाले पहिलो रात सोही ठाउँमा बस्ने निधो गरेर नारायणटारबाट बिहान ८ः३० बजे बाटो लाग्यौँ । शनिबार भएर होला भक्तपुर धुलिखेलतिर खासै जाम थिएन । बिस्तारै काठमाडौँलाई छाडेर अरनिको राजमार्ग हुँदै अघि बढ्यौँ ।
बस टाढा पुग्ने भए पनि ठाउँ ठाउँमा लोकल बस जसरी मान्छे टिप्दै अघि बढियो । करिब १२ बजे हामी सुकुटे बिच पुग्यौँ । सुकुटे आफैँमा आन्तरिक र बाह्य पर्यटनको रोजाइमा पर्ने स्थल हो । सुकुटेमा दुई सय रुपियाँ तिरेर भेज खाना खायौँ । त्यसपछि लाग्यौँ– सुनकोशीको तिरैतिर । दिउँसो १ बजे बाह्रबिसे पुग्यौँ । सुनकोशी र भोटेकोशीको सङ्गमस्थल रहेछ– बाह्रबिसे । छेउमा बगेको सुनकोशी नदी र त्यही नदीको किनारमा बाक्ला घर निक्कै सुन्दर देखिन्थे ।
बाह्रबिसेमा हामी केही समय रोकियौँ । अब बसले गाउँघर फर्किने मान्छे टिप्न थाल्यो । अबको यात्रा कच्ची सडक रहेछ । हामी अब सुनकोशी छाडेर भोटेकोशीको किनारैकिनार अघि बढ्यौँ । नदीपारि ससाना बस्ती देखिन्थे । धेरै खेतबारी बाँझो देखिन्थ्यो तर सडक चाहिँ गाउँलाई नै छोएर उक्लिएको थियो । सङ्घीयताले गाउँ गाउँमा केही हदसम्म विकास पु¥याए पनि बसाइँसराइले गाउँको घर खेतबारी बाँझै देखिन्थ्यो । कतै केरा खेती, कतै अलैँची बगान देखिन्थ्यो । बन्दै गरेको भोटेकोशी हाइड्रोपावर पनि देख्न पाइयो । यी दृश्य नियाल्दै अघि बढ्दा ३ बजे दाक्लाङ पुग्यौँ । यहाँबाट भोटेकोशी तरेर उकालो लाग्यौँ ।
जति उकालो चढ्दै गयो त्यति नै अप्ठ्यारा सडक थिए । पहाडका थुम्का खुलेर बसेका थिए । उकालो चढ्दै जाँदा गाउँघर नियाल्न पाइयो । हिउँदे बाली थन्क्याएर लेकबाट ल्याइएका गाईभैँसी बारीका पाटामा बाँधेर पराल हालेको दृश्य देखिन्थे । गाउँघरमा आधुनिक पक्की घर पनि देखिन्थे । घाम बिस्तारै डाँडादेखि ओझेल लाग्दै थियो । हामी ५ बजे लिस्ती पुग्यौँ । शेर्पा र तामाङको बसोबास रहेको लिस्ती भौगोलिक हिसाबले अत्यन्तै अप्ठ्यारो देखिन्थ्यो । लिस्तीबाट बगाम पुग्न हामीलाई धेरै समय लागेन । ६ः३० बजेतिर पहिलो दिनको गन्तव्य स्थल बगाम पुग्यौँ । अँध्यारो भइसकेकाले बगाम गाउँ हेर्न पाइएन ।
चिसो हावाले शरीर नै तरङ्ग बनाइरहेको थियो । बगामस्थित टासीदेले होमस्टेमा बस्ने निधो ग¥यौँ । घुमफिर गर्ने समय भएकाले हुन सक्छ होमस्टेमा बस्ने थुप्रै मानिस थिए । कोही घर फर्किने कोही भैरवकुण्ड यात्राको तयारीमा थिए । टासीदेले होमस्टेमा खाना र बस्न आठ सय रुपियाँ थियो । बगामबाट हिँडेर भैरवकुण्ड पुग्न ८ घण्टा लाग्ने भएकाले डराएका पनि थियौँ । बगामदेखि नै चोकरमोकरसम्मका लागि जिप रिजर्भ गरेर पनि जान मिल्ने रहेछ । प्रतिव्यक्ति आउन जान गरी एक हजार रुपियाँ लाग्ने रहेछ तर हामी हिँडेरै जाने निधोमा पुग्यौँ ।
भोलिपल्ट ३ बजे उठेर मोबाइलको बत्ती बाल्दै भैरवकुण्डतिर पाइला चाल्यौँ । ढुङ्गा बिछ्याइएको बाटो उकालो भए पनि निकै सहज र फराकिलो थियो । पोस्रा उकालो सकेर सोताङखर्क भन्ने ठाउँमा करिब ६ बजेतिर पुग्यौँ । विस्तारै डाँडाकाँडाले बिहानीको सङ्केत गराइरहेको थियो । सोताङखर्कदेखि अलि माथि पुग्दा हिमशृङ्खलालाई घामका किरणले स्पर्श गरिरहेको सुन्दर दृश्य देखियो । त्यसलाई हतार हतार क्यामरामा कैद गर्न थाल्यौँ ।
चाँदी जस्तै टलक्कै टल्किने हिमशृङ्खला आँखै अघिल्तिर देख्दा सबै थकान त्यहीँ बिलाए जस्तो महसुस भयो तर अझै उकालो सकिएको थिएन ।
हरेक उकालोको पोस्रामा चौतारा या पाटीपौवा भेटिन्थे । एकछिन थचक्क बस्दा थकान मेटिन्थ्यो । पाटीपौवा ठाउँ ठाउँमा बनाइएको भए पनि अत्यन्तै फोहोर देखिन्थ्यो । यात्रुको सहजीकरणका लागि बनाइएका साइनबोर्ड पनि लथालिङ्ग अवस्थामा थिए । जति उकालो चढ्यो त्यति चिसो हुँदै थियो । भोकले झुत्ती खेलिरहेको थियो । ८ बजेतिर करिब ४१०० मिटरमा रहेको चोकरमोकर पुग्यौँ । चोकरमोकरमा दुई वटा होमस्टे रहेछन् । बगामबाट जिप रिजर्भ गरेर यहाँसम्म आइपुग्न सकिने रहेछ । स्थानीयका अनुसार अबको वर्षभित्र यहाँ सात वटा होमस्टे थपिने रहेछन् । चोकरमोकरका स्थानीयले अन्य खानेकुरा नभए पनि फलफूल, चिया, सातु दिन सकिने बताए । हामीले चिया र सातु खायौँ । मकै र भटमास भुटेर पिसेपछि सातुले लेक लाग्नबाट पनि बचाउने रहेछ । सातु र चियाको १५० रुपियाँ ति¥यौँ । हामी फेरि उकालो लाग्यौँ । हिमशृङ्खला नियाल्दै करिब ९ः३० बजे भैरवकुण्ड पुग्यौँ । समुद्री सतहबाट ४२५० मिटर उचाइमा रहेको भैरवकुण्डको तीन भागमा डाँडाले घेरा लगाएको थियो । एक भाग खाली थियो, जहाँबाट हिमशृङ्खला देखिन्थ्यो । धेरै चिसोका कारण पोखरीको दुई चौथाइ भाग बरफ जमेको थियो । केही भागमा पानी देखिन्थ्यो । शान्त वातावरणमा शालीन देखिन्थ्यो– भैरवकुण्ड । हिन्दु र बौद्ध धर्मावलम्बीका लागि प्रमुख गन्तव्य स्थल रहेछ– भैरवकुण्ड । स्थानीयका अनुसार भैरवकुण्डलाई शेर्पा समुदायले ‘आमा छ्युमेन’ का रूपमा पूजा गर्दा रहेछन् । यस धार्मिक स्थलमा जनैपूर्णिमाका दिन विशेष मेला लाग्दो रहेछ । भैरवकुण्डमा भगवान् शिव पार्वतीको वासस्थान रहेको किंवदन्ती छ । महादेवको उग्ररूप भैरव संहारकर्ताका रूप मानिन्छ । भगवान् शिवको क्रीडास्थलका रूपमा भैरवकुण्डलाई लिइन्छ भन्ने जानकारी स्थानीयबाट नै प्राप्त भयो । कुण्डमा तीन चोटि डुबुल्की लगायौँ । चिसोले कठ्याङ्ग्रिएता पनि नुहाएर मन्दिरमा भेटी चढायौँ । यहाँ मागेको पूरा हुन्छ भन्ने विश्वासले भक्तजन आउँदा रहेछन् । हामीले पनि मनमा भएका सबै कुरा भैरवकुण्डमाझ राख्यौँ । मागेका र राखेका बिन्ती पूरा हुन्छ भन्ने आशको पोका बोकेर अब हामी भैरवकुण्डलाई छोडेर फर्किने तयारी थाल्यौँ ।
भैरवकुण्डमा दुई घण्टा समय व्यतीत गरेर १२ बजे फर्कियौँ । फर्किंदा बाटोमा हामीसँगै बगाममा बसेका साथीहरू हामी फर्केको देखेर दङ्ग परे । किनभने उनीहरू जिप रिजर्भ गरेर आउँदा पनि उनीहरूभन्दा छिटो भैरवकुण्ड पुगेका थियौँ । फर्किंदा एउटा भ्यु प्वाइन्टबाट हिमाल झनै नजिक देखिने भनेर स्थानीयले जानकारी दिए । बगाम फर्किन हतार थिएन किनभने हामी सोचेभन्दा छिटो भैरवकुण्ड पुगेका थियौँ । त्यसो भएकाले फेरि आधा घण्टा खर्चिएर हिमाललाई नजिकैबाट हेर्न उकालो चढ्यौँ ।
करिब आधा घण्टामा भ्यु प्वाइन्ट पुग्यौँ । जहाँबाट दोर्जेलाक्पा, सिसापाङ्मा, जुगल र फुर्बी हिमाल आँखै अघिल्लितिर देख्न पाइयो । त्यता करिव एक घण्टा व्यतीत ग¥यौँ । त्यसपछि ओरालो लाग्न थाल्याैँ । २ बजे चोकरमोकरमा फर्कियौँ । चोकरमोकरकी सिमसाङ आमालाई दुई वटा चाउचाउ पकाउन लगायौँ जसको मूल्य दुई सय ति¥यौँ । हामीलाई उज्यालोमा नै बगाम पुग्नु थियो । किनभने बगाम गाउँलाई अँध्यारोमा मात्र अवलोकन गर्ने अवसर मिलेको थियो । जति चाँडो हिँडिन्छ त्यति छिटो बगाम गाउँ डुल्न र नियाल्न पाइन्छ भनेर ओरालो लाग्यौँ । बाटोमा कुनै कुनै ठाउँमा गोठ देखिन्थे तर वस्तु देखिन्थेन । जुन गतिमा घाम डाँडामुनि डुब्दै थियो त्यही गतिमा ओरालो झर्दै गयौँ । करिब ४ः३० बजेतिर बगाम झ¥यौँ ।
सानो बस्ती हिमशृङ्खलालाई ऐना बनाएर बसेको थियो– बगाम । होमस्टे खचाखच थियो– बगाममा । यहाँ तामाङ र शेर्पा समुदायको बाहुल्य रहेछ । गाउँ सानो भए पनि विकासले फड्को मारिसकेको देखिन्थ्यो । आधुनिक प्रविधि प्रयोग गरी बनाइएका घर देखिन्थे । केही घर साना भए पनि चिटिक्क परेका देखिन्थे । बिहान बस चाँडै लाग्ने भएकाले बेलैमा खाना खाएर थकान मेट्न खाटमा ढल्कियौँ । भोलिपल्ट बिहानै ६ बजे बस चढ्न बगाम गाउँको गेटमा पुग्यौँ । बगामलाई बिदाइ गर्दै छगाम, लिस्ती हुँदै करिब १० बजे बाह्रबिसे झरियो । स्थानीय यात्रु टिप्दै, ओराल्दै हामी चढेको बस काठमाडौँतिर चलिरहेको थियो ।