भदौ २४ गते सङ्खुवासभा जिल्ला सिलिचोङ–३ ताम्कुका मालती कुलुङ आफ्नै बारीमा कोदो गोड्दै हुनुहुन्थ्यो । उहाँको श्रीमान् बालकिशोर छिमेकीलाई सघाउन जानुभएको थियो । बालकिशोरको मोबाइल घरमै चार्जमा थियो । घडीको सुई पौन दुईमा पुगेको बेला मोबाइलको घन्टी लगातार बजेको सुनेर कोदो गोड्न छोडेर मालती मोबाइल उठाउन घर आउनुभयो । फोन काठमाडौँबाट कान्छा छोरा मौसमले गरेका थिए । मौसमले अरू कुरा केही नभनी बुबा कहाँ हुनुहुन्छ ? बुबालाई फोन दिनु भने । मालतीले केही ठम्याउन सक्नुभएन । हतार हतार छिमेकीलाई सघाउन गएका श्रीमान् बालकिशोरलाई मोबाइल पु¥याउन जानुभयो ।
बालकिशोरले फोन रिसिभ त गर्नुभयो तर उहाँ स्वयम् पनि एकछिन बोल्न सक्नुभएन । फोनमा कान्छा छोरा भन्दै थिए, “प्रवीण दाजुलाई प्रहरीको गोली लाग्यो ।” मालती र बालकिशोर दुवै स्तब्ध बन्नुभयो । मौसमका अनुसार अघिल्लो दिन २३ गते पनि प्रवीण जेनजी समूहले भ्रष्टचार नियन्त्रण र बेथितिविरुद्ध गरेको प्रदर्शनमा चावहिलतर्फबाट सहभागी थिए । त्यो दिन पनि प्रवीण केही साथीसँग कपनमा रहेको कोठाबाट ११ बजे बाहिर निस्किएका थिए । साथीहरूसँग आन्दोलनमा भाग लिँदै दिनको साढे दुई बजे गौशाला प्रहरी बिट अगाडि पुगे । प्रवीण कोही साथीले फोनमा केही भनिरहेका थिए, त्यहीबेला उसको दाहिने छातीमा गोली लाग्यो र घटनास्थलमै मृत्यु भइसकेको भए पनि उनको शवलाई अन्य साथीहरूले गौशाला नजिकैको फ्रन्टलाइन हस्पिटलमा पु¥याएका थिए । प्रवीण बालकिशोर र मालती कुलुङका दोस्रो सन्तान थिए । प्रवीणका दाजु राजीव नेपाली सेनामा कार्यरत छन् । । भाइ मौसम अहिले कान्तिपुर सिटी कलेज काठमाडौँमा बिआइटी चौथो सेमेस्टर पढिरहेका छन् ।
२०६० साल असोज ९ गते जन्मिएका प्रवीणको पढाइ स्थानीय लक्ष्मी आधारभूत विद्यालयबाट सुरु भएको थियो । सगरमाथा मावि ताम्कुबाट एसइई पूरा गरेर काठमाडौँ आएका उनले काठमाडौँको पुष्पलाल मेमोरियल कलेजबाट कानुन विषय लिएर कक्षा १२ पूरा गरेका थिए । हक्की स्वभावका प्रवीण अधिवक्ता बन्ने चाहन्थे तर घरको कमजोर आर्थिक अवस्थाले उनको मन बदलियो । आर्थिक अवस्थाकै कारण स्नातक तहमा कानुन नपढेर पशुपति बहुमुखी क्याम्पस मित्रपार्कमा समाजशास्त्र सङ्कायमा भर्ना भएर स्नातक तह दोस्रो वर्षको पढाइलाई पनि निरन्तरता दिइरहेका थिए । त्यसको साथमा समय मिलाएर कोरियन भाषा पढ्न इपिएस भर्ना भए । भाइ मौसमसँगै काठमाडौँको कपनमा भाडाको कोठामा बसेर आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका प्रवीण इपिएसको परीक्षाका लागि पनि तयारी गरिरहेका थिए । किसानी परिवारका प्रवीण जेठ २५ गते गाउँ गएर बुबा आमालाई दुई महिना काम सघाएर साउन २२ गते मात्र काठमाडौँ आएका थिए ।
प्रवीणका बुबा बालकिशोर एसएलसीसम्मको पढाइ सकेर गाउँमै किसानी गरिरहनुभएको थियो । २०५९ सालदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा आबद्ध हुन पुग्नुभयो । सशस्त्र युद्धताका पार्टीको जनवर्गीय सङ्गठनमा वडास्तरीय जनसरकार प्रमुख भएर केही वर्ष काम गर्नुभयो । २०६२ जनमुक्ति सेनाका रूपमा सशस्त्र सङ्घर्षमा होमिनुभएको थियो । विस्तृत शान्ति सम्झौतापश्चात् फस्ट डिभिजन हेडक्वाटरबाट स्वेच्छिक अवकाश लिएर गाउँमै कृषि पेसासँगै स्थानीय तहको राजनीतिमा पनि संलग्न हुनुहुन्थ्यो ।
बुबा राजनीतिसँग नजिक भएको हुनाले प्रवीण कुलुङले समाजमा व्याप्त असमानता, राज्यमा फैलिएको भ्रष्टचार, अस्थिर सरकार र बेरोजगारी आमयुवाको पीडालाई नजिकबाट बुझेका थिए । साहसी, निडर र हक्की स्वभावका प्रवीण केवल आफ्नो भविष्यबारे मात्र होइन, सम्पूर्ण समाजको उज्यालो भविष्यबारे सोच्ने व्यक्ति थिए । सायद त्यही सोचले उनलाई परिवर्तनको बाटोमा हिँड्न प्रेरित ग¥यो ।
भदौ २३ गते भ्रष्टचार नियन्त्रण, सुशान र उत्तरदायी सरकारको माग गर्दै जेनजी युवाले सुरु गरेको आन्दोलन अघि बढ्दै जाँदा अर्कै मोड लिन पुग्यो । आन्दोलनका क्रममा १९ जना आन्दोलनकारी युवाले सहादत प्राप्त गरिसकेका थिए । राज्यद्वारा गरिएको दमनविरुद्धको आन्दोलनमा होमिएका प्रवीणले पनि २४ गतेका दिन सहादत प्राप्त गरे ।
प्रवीणको निधनले बालकिशोरको परिवार मात्र शोकमा डुबाएन, छरछिमेकमा सन्नाटा छायो । सङ्खुवासभाको सिलिचोङ जस्तो भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रबाट छोराको शव बुझ्न तत्काल काठमाडौँ जान सकिने अवस्था थिएन । प्रवीणको शव बुझ्न र विभिन्न सरकारी प्रक्रिया मिलाउन भाइ मौसमलाई साथ दिन मकवानपुरबाट नेपाली सेनामा कार्यरत दाजु राजीव आइपुग्नुभयो । राजीवको दरबन्दी विराटनगरमा भए पनि १५ महिने स्पेसल टास्कफोर्स तालिमका लागि मकवानपुरमा हुनुहुन्थ्यो । कुलुङ सङ्घ जिल्ला समन्वय समितिको काठमाडौँका पदाधिकारीको पूर्ण सहयोग रह्यो । सबैको सहयोगमा प्रवीणको शव भदौ ३१ गते हेलिकोप्टरद्वारा विराटनगर लगिएको थियो । उक्त हेलिकोप्टरमा सिलिचोङकै अर्का सहिद साजन मेवाहाङसहित अन्य चार जनाको शव पनि रहेको थियो ।
मौसमको खराबी र समयको अभावले प्रवीणको शव भदौ ३१ गते विराटनगरमै राखिएको थियो । असोज १ गते बिहान १० बजे हेलिकोप्टरद्वारा सहिद प्रवीणको शवलाई उनका दाजु राजीव र भाइ मौसमको सहयोगमा सिलिचोङ–३ ताम्कुस्थित मकालु बरुण राष्ट्रिय निकुञ्जको हेलिप्याडमा ओरालिएको थियो ।
त्यो शोकाकुल अवस्थामा व्यवस्थापन गर्न सहयोग गर्नुहुने सम्पूर्ण सङ्घ संस्था र व्यक्तिप्रति आभारी रहेको बालकिशोर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रवीणको अधिवक्ता बन्ने सपना आर्थिक अभावले छेक्यो । कोरिया गएर आर्थिक रूपमा बन्ने सपना त यत्तिकै अुधुरो रह्यो । प्रवीणलगायत अन्य सहिदले देखेका सपना पूरा गर्न भ्रष्टाचार र बेथितिमुक्त समाज निर्माण हुन आवश्यक छ । सहिदको सहादतले ती सपना बोकेर हिँड्ने हजारौँ युवालाई प्रश्न गर्न, सोच्न र सङ्घर्ष गर्न प्रेरित गरोस् । फेरि फेरि प्रवीण जस्ता होनहार युवाले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था नआओस् । जेनजी आन्दोलनका बलमा गठन भएको सुशीला कार्की सरकारले प्रवीणसहित आन्दोलनमा सहादत प्राप्त गरेका ४५ जनालाई सुशासन योद्धा २०८२ घोषित गरेको छ । सहिद घोषण गरेपछि सहिद परिवारलाई दिइने १० लाख र काजकिरियाबापतको पाँच लाख गरी १५ लाख रकम सरकारबाट प्रवीणको परिवारले प्राप्त गरेको छ । उक्त रकम सहिद परिवारका लागि पर्याप्त होइन । प्रवीणसँग सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदको सपना सरकारले पूरा गर्नुपर्ने छ ।