• १९ पुस २०८२, शनिबार

अन्यौलमा पालिका अस्पतालहरु

blog

निर्माणधीन धवलागिरी गाउँपालकिा स्तरीय अस्पताल भवन । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, पुस १९ गते ।
हिमाली जिल्ला म्याग्दीका छ मध्ये ४ वटा स्थानीय तहमा बन्नु पर्ने अस्पतालहरु सबै अन्यौलमै छन् । दुई अस्पताल निर्माण बिचमा अलपत्र छ भने एउटा भवन बनेर बेबारिस बन्दा अर्को अस्पताल भवन निर्माण गर्ने ठाउँकै टुङ्गो लाग्न सकेको छैन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भवन निर्माण सम्पन्न भएको तीन वर्ष पुग्नै लाग्यो भने धवलागिरी गाउँपालिका र मंगला गाउँपालिकामा निर्माण थालिएको भए पनि अधकल्चो बनेको अवस्था छ ।

तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणको काम अझै ४० प्रतिशत बाँकी छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सूचारु नभएको हो । तीन पटक म्याद थपि सकिएको र तेस्रो पटकक थपिएको म्याद सकिन छ महिना बाँकी छ ।

भवन निर्माणका लागि २०७८ वैशाखमा २०७९ असार १५ भित्र सक्ने गरी चार करोड ७९ लाख ४० हजार तीन सय ३४ मा धवलागिरी गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो । दुई तले १६ कोठा भएको आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो ।

धवलागिरी गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण कम्पनीका प्रतिनिधी दीपक अदैले प्रतिकूल मौसमका कारण साउनदेखि रोकिएको अस्पताल भवन निर्माण कार्यलाई चाँडै सूचारु गर्ने बताउनुभयो ।


भवन निर्माणको कार्य सङ्घीय सरकारले पठाउने बजेट अनुसारको काम गर्दै आएको र सरकारले भुक्तानीका लागि बजेट उपलब्ध गराउन सके चालु आवमै भवन सम्पन्न गर्ने अदैले बताउनुभयो । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो ।

त्यस्तै, मंगला गाउँपालिकाको निर्माणाधीन अस्पताल भवन ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अगाडि बढ्न सकेको छैन । २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भवनको पटकपटक म्याद थप्दा पनि भौतिक प्रगति हुन सकेको छैन । भवन निर्माणको जिम्मा लिएको ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम तर्फ ध्यान नदिएको गाउँपालिकाका प्राविधिकको भनाइ छ ।

ठेकेदारले समयमा भवन निर्माणको काम अगाडि नबढाउँदा सङ्घीय सरकारबाट प्राप्त हुने बजेट प्राप्त गर्न कठिनाई हुनुका साथै ठेकेदारलाई काममा लगाउन ठुलो संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । योजनाको कार्यसम्पादन प्रगति प्रतिवेदनका आधारमा मात्र बजेट प्राप्त हुने हो । तर ठेकेदारले काम नगर्दा बजेट आउने कुरा पनि भएन उहाँले भन्नुभयो ।

२०७७ पुस १५ गते मंगला गाउँपालिका–५ स्थित हाँडेभिरमा अस्पताल भवनको शिलान्यास गरिएको थियो । अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौँसँग २०७८ असारमा नौ करोड ११ लाख रुपियाँमा ठेक्का सम्झौता गरेकोे थियो ।


अन्नपूर्ण गाउँपालिका १ दोवामा निर्माण भएको अस्पताल भवन तीन वर्ष बित्दा पनि सेवा सुरु हुन सकेको छैन । सडकको अवस्था कमजोर र बस्तीभन्दा अपायक ठाउँ जस्तो भुगेलमा भएकोले अस्पताल सञ्चालन नै अन्योलै देखिएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकको भनाइ छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पनुले भन्नुभयो, ‘‘केही समय पहिला हामीले मन्त्रीज्यूलाई अस्पताल भवनको निरीक्षणमा लगेका थियौँ, तर भौगोलिक अवस्था तथा सडकको स्तरले गर्दा पनि कहिलेबाट अस्पताल सञ्चालन गर्ने भन्ने यकिन भन्न सक्ने अवस्था नदेखिएको हो ।’’

२०७९ फागुन मसान्तमा निर्माण भएको भवन तीन वर्ष बितिसक्दा पनि सञ्चालन कहिले गर्ने भन्ने अझै पनि अन्योल रहेको छ । अस्पताल भवन निर्माण भइसकेपछि यहाँबाट हामीले गर्नु पर्ने सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर केन्द्रसम्म पुगेको भए पनि कहिलेदेखि सञ्चालन गर्ने भन्ने टुङ्गो नभएको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिनुभयो । एकै पटक शिलान्यास गरेर सुरु गरेको स्थानीय तहको अस्पतालका लागि २०८० को सुरुआतमा केन्द्र सरकारले पहिलो चरणमा एक सय अस्पताल सञ्चालन गर्ने भन्ने जानकारी पाएको हो । तर त्यसमा हाम्रो अस्पताल प¥यो परेन यकिन भएन । निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहितका कोठा रहेको छ ।

भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग पाँच करोड १२ लाख ६० हजार रुपियाँमा भवन निर्माण सम्झौता गरेर २०७९ फागुन मसान्तभित्रै निर्माण सम्पन्न गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनको भनाइ छ । अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र अस्पतालको कम्पाउन्डिङ गर्न ठुलो खर्च व्यवस्थापन गर्नुपर्ने छ, साथै अस्पताल सञ्चालनमा ल्याउन गाउँपालिकाले आवश्यक पहल गरिरहेको उहाँले बताउनुभयो ।

अस्पताल निर्माण गर्नका लागि दोबाका बासिन्दाले एक करोडभन्दा बढी पर्ने १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनुका साथै प्रशासनिक कार्य र निर्माण कार्य सकिएको भए पनि अस्पताल सञ्चालनमा आउने कुनै टुङ्गो नलाग्दा स्थानीय चिन्तित भएका छन् ।

जिल्लाका छ वटा स्थानीय तह मध्ये मालिका गाउँपालिकामा पहिल्यै भएको प्राथमिक स्वास्थ्यकेन्द्रलाई स्तरोन्नती गरेर आधारभूत अस्पताल बनाइएको छ । त्यस्तै सदरमुकाम रहेको बेनी नगरपालिकामा ५० शय्याको अस्पताल रहेको छ । रघुगंगा गाउँपालिकामा भने अहिलेसम्म पनि अस्पताल निर्माण गर्ने जग्गाको टुङ्गो नलाग्दा अन्यौल कायम छ ।