• १९ पुस २०८२, शनिबार

माघ महोत्सवको तयारी पूरा, मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुहुने

blog

गत वर्षको महोत्सवमा मघौटा नाच नाच्दै थारू समुदाय । तस्बिर : सन्तोष दहित

सन्तोष दहित 
दाङ, पुस १९ गते ।
थारू कल्याणकारिणी सभा दाङद्वारा शनिबार (पुस १९ गते) आयोजना हुन लागेको एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का सम्पूर्ण तयारी पूरा भएका छ । घोराहीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा हुन लागेको महोत्सवका तयारीबारे जानकारी गराउने पत्रकार भेटघाटमा महोत्सव मूल आयोजक समितिका संयोजक तथा सभाका अध्यक्ष अशोक चौधरीले तयारी पूरा भएको जानकारी दिनुभयो ।

थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्धन  गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा सात दर्जनभन्दा बढी मघौटा नाच, छोक्रा, हुर्डुङया, ढुम्री लगायतका विविध सांस्कृतिक प्रस्तुति रहनेछन् । साथै, राष्ट्रिय तथा स्थानीय थारू कलाकारहरूले आकर्षक प्रस्तुति दिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

“आर्थिक जागरण व सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितके समृद्धिम हमार योगदान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सव उद्घाटनअघि घोराहीका मुख्य बजार क्षेत्रपरिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ । उक्त परिक्रमा थारू मौलिक भेषभूषा र संस्कृतिसहित झाँकी प्रदर्शन स्वरूप हुनेछ ।

उहाँले थारू समुदायलाई आफ्ना मौलिक भेषभूषा र पहिचान झल्काउने ढक्या, डेल्वा, भौका, भौकी, हलो, जुवा लगायतका हस्तकलाका सामग्रीहरू सहित सहभागिता जनाउन अनुरोध गर्नुभयो । महोत्सवमा थारू परिकारहरू घोंघी, माछा, गंगटा, ढिक्री, अनडीको रोटी, अनडीको भात, अनडीको झोल, आलुको अचार, सिध्र माछा लगायत बिक्री तथा वितरण गरिनेछ । साथै, थारू इतिहास, भाषा, साहित्य र संस्कृतिसम्बन्धी पुस्तकहरूको प्रदर्शनी तथा बिक्रीको पनि व्यवस्था गरिएको छ ।

त्यस्तै, थारू समुदायका परम्परागत हस्तकला डेल्या, गुन्द्री, ढक्या, ढक्ली, ड्वाला, भौका, भौकी, बेर्रा आदिको प्रदर्शनी र बिक्रीको व्यवस्थासमेत गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । महोत्सवको अवसरमा थारू भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका अगुवा र संस्कृतिविद्हरूलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजना गरिनेछ ।

मुख्यमन्त्रीबाट उद्घाटन
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने संयोजक चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व सांसद शान्ता चौधरी, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरू र थारू समुदायका अग्रणी व्यक्तित्वहरूको उपस्थिति रहनेछ । थारू समुदायको ऐक्यबद्धता र सहभागिता सुनिश्चित गर्न सम्पूर्ण थारू समुदायलाई महोत्सवमा सहभागी हुन अध्यक्ष चौधरीले आग्रह गर्नुभएको छ ।