रमेश विश्वकर्मा
गुल्मी, पुस १९ गते । गुल्मीको सदरमुकाम तम्घासमा हुने प्रायः औपचारिक कार्यक्रममा नौमती बाजा हातमा लिएर विद्यालयको ड्रेसमा सजिएका विद्यार्थीहरुलाई देख्न सकिन्छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत नौमती बाजा सिकेर यहाँको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु स्थानीयस्तरमा हुने महोत्सव, पूजाआजा, विद्यालय तथा पालिकाको कार्यक्रममा बजाउन गएको देख्न सकिन्छ ।
तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु अध्ययनको निरन्तरतासँगै विद्यालयका कार्यक्रमबाहेक अन्यत्र पनि बाजा बजाउन जाने गर्छन् । विद्यालयले नौमती बजा बजाउने तालिम गराई दुई समूह तयार पारेको छ । यस विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर समेत हुन थालेका छन् । विद्यालयले विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेको हो ।
रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा विद्यार्थीलाई पढाइको साथमा सिपसँग जोड्नका लागि नौमती बाजा बजाउने तालिम प्रदान गरिएको थियो । विभिन्न संघसंस्थाले कार्यक्रमहरु गर्दा बोलाउने गरेको विद्यार्थी सुदिप परियारले बताउनुभयो । “कार्यक्रममा छोटो समय बाजा बजाउन लगाउनु हुन्छ । केहि पारिश्रमिक पनि हुन्छ ।’’ उहाँले भन्नुभयो, “पढाइ सँगसँगै कमाइ पनि भइरहेको छ । हामीले सिकेको बाजाले हामीलाई चिनाउन थालिसकेको छ ।’’
रेसुङ्गा नगरपालिकाको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत यहाँका ३६ जना विद्यार्थीलाई तीन चरणमा तालिममा सहभागी गराइएको थियो । विद्यार्थीहरुलाई पढाइसँगै सीपको विकास गरी सिकेको सीपलाई आय–आर्जनसँग जोड्न टेवा पु¥याउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको थियो । अहिले यहाँका विभिन्न संघसंस्थाले छोटो समयका लागि विद्यार्थीहरुलाई कार्यक्रममा बाजा बजाउन बोलाउने गरेको विद्यालयका प्रधानाध्यापक भागीरथ भण्डारीले बताउनुभयो ।
“विद्यार्थीहरुलाई प्रभातफेरी, ¥यालीलगायतका कार्यक्रममा बोलाउनुहुन्छ । त्यस बापतको विद्यार्थीले पाउने पारिश्रमिकको केहि प्रतिशत रकम बाजा मर्मत कोषमा राखिन्छ ।’’ उहाँले भन्नुभयो, “बाँकी रहेको बाजा बजाउने विद्यार्थीलाई उपलब्ध गराइन्छ ।’’ लोप हुँदै गइरहेको नौमती बाजा बजाउने संस्कृतिको संरक्षण र जगेर्ना गर्ने विद्यार्थीहरुमा आफ्नो मौलिक संस्कृतिको पहिचान गराउनुका साथै विद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्ने यो कार्यमा विद्यार्थीहरुले निकै रुचिपूर्ण तरिकाले संलग्नता देखाएका छन् ।