• १९ पुस २०८२, शनिबार

प्रविधिमैत्री भन्सार प्रणाली आवश्यक : अर्थमन्त्री खनाल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १९ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व प्रणाली सुदृढ गर्ने प्रमुख आधारका रूपमा भन्सार व्यवस्थापन सुधारलाई अघि बढाउनुपर्ने बताउनुभएको छ । भन्सार विभागले शुक्रबार आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उहाँले प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी भन्सार प्रणालीबिना आर्थिक स्थायित्व सम्भव नहुने बताउनुभयो ।

भन्सार प्रक्रियामा सुधार नहुँदासम्म राजस्व चुहावट नियन्त्रण र वैदेशिक व्यापार सहजीकरण चुनौतीपूर्ण हुने भन्दै उहाँले डिजिटल प्रविधिको अधिकतम प्रयोग, जोखिममा आधारित जाँच प्रणाली र कर्मचारीको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उपभोगमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्ने र कर प्रशासनले पनि स्वाभाविकै रूपमा त्यसलाई सहयोग पु¥याउने हुनुपर्ने उहाँको भनाइ थियो ।

सरकारले कानुन परिवर्तन नगरी, प्रक्रियागत सरलीकरण गरेर तथा नियमावली परिवर्तन गरेर या प्रणालीलाई सुधार गरेर केही सुधारको पहल गरेको बताउँदै उहाँले भन्सार प्रशासन वा राजस्व व्यवस्थापनमा मात्रै नभई महालेखा नियन्त्रक कार्यालय अन्तर्गतका करिब सबै निकायमा त्यो गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री खनालले भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली कार्यान्वयन हुन बाँकी रहेका कार्यालयमा प्रणालीको शुभारम्भ गर्नुभयो ।

अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालले भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै प्रणाली आफैँमा पूर्ण नहुने बताउनुभयो । यसको सफल कार्यान्वयनका लागि सबै सरोकारवालासँग सहकार्य हुनुपर्ने भन्दै उहाँले प्रणालीसँगै कार्यशैलीमा पनि सुधारको आवश्यकता औँल्याउनुभयो ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार सुधार प्रशासनिक विकल्प नभई आर्थिक आवश्यकता भएको बताउनुभयो । उहाँले प्रविधिमा आधारित प्रणाली, पारदर्शी कार्यशैली र जवाफदेही प्रशासनमार्फत मात्रै राजस्व चुहावट नियन्त्रण र व्यापार सहजीकरण सम्भव हुने स्पष्ट पार्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले भन्सार कार्यालयमा सुरु भएको अनलाइन भ्यालुएसनको स्वागत गर्दै निजी क्षेत्रले बारम्बार उठाउँदै आएको विषय सम्बोधन भएकोमा धन्यवाद दिनुभयो ।

पछिल्लो समय अर्थ मन्त्रालयले निजी क्षेत्रका धेरै सुझावलाई सुन्ने र कार्यान्वयन गर्ने गरेको भन्दै नयाँ सरकार आएपछि निजी क्षेत्रमा धेरै सकारात्मक काम भएको उहाँले बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले भन्सार प्रशासनको प्रविधिसँगै मानसिकतामा पनि सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले भन्सार प्रशासनको दायित्व राजस्व सङ्कलन मात्रै नभएर व्यापार सहजीकरण पनि भएको बताउनुभयो ।

विभागका उपमहानिर्देशक अमृत लम्सालले भन्सार विभागको समसामयिक प्रस्तुतीकरण गर्दै पछिल्लो पाँच महिनामा मुलुकको आयात उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा राजस्व सङ्कलन हुन नसक्नु चिन्ताको विषय बनेको बताउनुभयो ।

शनिबारसम्म चल्ने गोष्ठीमा भन्सार एजेन्ट, उद्योगी–व्यापारी, भन्सार प्रशासनका उच्च अधिकारी तथा नीति निर्माताको सहभागिता छ । सहभागीले भन्सार नीतिमा स्थायित्व, स्वचालित प्रणालीको विस्तार र निजी क्षेत्रसँग सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए ।