• १८ पुस २०८२, शुक्रबार

बाँकेको दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै फरार

blog

फोटो क्याप्सन बाँकेको डुडुवामा रहेको जयन्दु बालसुधार गृह । तस्विर: सिराज खान ।

 सिराज खान

नेपालगन्ज, पुस १८ गते । बाँकेको दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै अझै पनि पक्राउ पर्न सकेका छैनन् । 

 जेनजी आन्दोलनको बेला गत भदौ २४ गते बाँकेको नौबस्ता बाल सुधारगृह र डुडुवास्थित जयन्दु बालसुधार गृहबाट भागेका मध्ये ९६ जना बालबन्दी अझै पनि परार रहेका छन् ।

 ती दुबै बालसुधार गृहबाट भागेका १९३ जना बालबन्दी मध्ये हालसम्म ९७ जना पक्राउ परेका छन् भने ९६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको दुबै बालसुधार गृह प्रशासनले जनाएको छ ।  

नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले भदौ २४ गते सुरक्षाकर्मीसँग भिडन्त गरेर भागेका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ भने ३९ जना अझैपनि फरार नै रहेको बताउनुभयो । 

उहाँले उनीहरूको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको जनाउँदै भागेका मध्ये अधिकांश भारत छिरेको आशंका गरिएको बताउनुभयो । 

सोही प्रकारले भदौ २४ गतेनै जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ जना बालबन्दीमध्ये ५८ जना पक्राउ परेका छन् भने ५७ जना अझै परार रहेका छन् ।

 जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले भागेका मध्ये केहीलाई पक्राउ गरिएको, केहीलाई अभिभावकले ल्याएको र केहीले आफैँ आत्मसमर्पण गरेको जानकारी दिनुभयो । 

उहाँले सो सुधारगृहका ५७ जना बालबन्दी अझै पनि फरार रहेका र उनीहरूको खोजी भइरहेको बताउनुभयो ।उहाँले पनि भागेका मध्ये अधिकांश भारत छिरेको आशङ्का गरिएकोले खोज तलासमा समस्या भइरहेको बताउनुभयो । 

फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा सरकारले दिएको थियो ।

 तर अझै पनि धेरैजना बालबन्दी र कैदीहरु फर्किएका छैनन् ।बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार कैदीबन्दी नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको उल्लेख गर्दै फरार भएका अधिकांश बालबन्दी र कैदीहरू भारतमा लुकेको हुन सक्ने बताउनुभयो ।

 भदौ २४ गते नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले गोली चलाउँदा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।