गुणबहादुर रोका
सुलीकोट, पुस १८ गते । गोरखाको आरुघाट गाउँपालिकाले बुढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न कडा प्रतिबन्ध लगाएको छ । पालिकाले शुक्रबार सार्वजानिक सूचना प्रकाशित गर्दै नदी तथा अन्य जलाशायमा विद्युतीय करेन्ट प्रवाह गरी तथा रासयनिक वा जडिबुटीजन्य विषादी प्रयोग गरी माछा मार्न पूर्ण रूपमा निषेध गरिएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनु भयो ।
‘‘अवैज्ञानिक र घातक विधिको प्रयोगले जलचरको व्यापक विनाश हुनुको साथै वातावरणीय सन्तुलनमा गम्भीर असर गर्छ,’’ पालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘यस प्रकारका क्रियाकलपाले मानव स्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याउने भएकाले नदी, खोला, तथा जलाशायमा कुनै पनि किसिमका विषादी हाल्न प्रतिबन्ध लगाइएको छ ।’’
गाउँपालिकाका प्रशासकिय अधिकृत विवेक खनालद्वारा हस्ताक्षारित सूचनामा महाजाल तथा साना प्वाल भएको जाल प्रयोग गरी ससाना भुरा माछा मार्न समेत प्रतिबन्ध लगाइएको छ भने भविष्यको लागि माछाको प्रकृतिक प्रजनन् प्रणालिमा नकारात्मक असर पार्ने भएकाले यस्तो अभ्यास रोक्न सम्पूर्ण पालिकावासीलाई आग्रह समेत गरिएको छ ।
आरुघाट गाउँपालिकाले बुढीगण्डकी नदी क्षेत्र जौविक विविधताले भरिपूर्ण भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको जनाएको छ । नदीमा पाइने माछा तथा अन्य जलचरको दिगो संरक्षणका लागि कानुनको पालन गर्न स्थानीय बासिन्दा तथा माछा मार्ने सबैलाई आग्रह गरिएको छ ।
यदि गाउँपालिकाको सूचनालाई उल्लङ्घन गरी करेण्ट, विषादी, प्रतिवन्धित जाल प्रयोग गरी माछा मारेको पाइएमा नजिकै रहेको प्रहरी कार्यालय वा गाउँपालिकाको कार्यालयमा तत्काल खबर गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।
यदि यस सूचनालाई उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ । साथै यस कदमले बुढीगण्डकी नदीको संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रशासकिय अधिकृत खनालको भनाइ छ ।