• १८ पुस २०८२, शुक्रबार

श्रेष्ठलाई अभिनन्दन, ओलीलाई दीर्घ साधना सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १८ गते । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन तथा वरिष्ठ लोक गायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान अर्पण गर्दै, राप्ती समाज काठमाडौँद्वारा आयोजित नवौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड–२०८२ काठमाडौँमा सम्पन्न भएको छ । 

कार्यक्रममा ४२ विधाका  विभिन्न अवार्डहरू प्रदान गरिएको थियो । कार्यक्रममा राप्ती सांस्कृतिक सम्मानबाट यागेश्वर बस्नेत, राप्ती सांस्कृतिक प्रतिभा पुरस्कारबाट नायक आकाश श्रेष्ठ, राप्ती डायस्पोरिक सांस्कृतिक सम्मानबाट गायक बसन्त लम्साल, राप्ती पत्रकारिता पुरस्कारबाट भोजराज थापा, राप्ती बाल प्रतिभा पुरस्कारबाट बाल कलाकार स्वयं केसी, र उद्यमशीलता सम्मान–२०८२बाट दीपक कार्की सम्मानित हुनु भएको थियो ।

यसैगरी, नारायण पाण्डेय लोकदोहोरी प्रतिभा पुरस्कारबाट शान्ता ओली र प्रेमप्रसाद शर्मालाई पुरस्कृत गरिएको थियो। यसका साथै समाजको सर्वाङ्गीण विकासमा दीर्घकालीन योगदान पु¥याउँदै आउनुभएका राप्ती समाज काठमाडौँका पूर्व अध्यक्ष, समाजसेवी तथा अधिवक्ता शशि शर्मा मजगैयाँलाई राप्ती सामाजिक सम्मान–२०८२ अर्पण गरिएको थियो ।

कार्यक्रममा गायक तथा सङ्गीतकार अर्जुन मिलन संविधानविद् डा. भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ सङ्गीतकार दीपक जङ्गम, वरिष्ठ कलाकार निर शाह, वरिष्ठ गायिका चन्द्रकला शाह, नायक पल शाह, गायक प्रमोद खरेललगायत सयौँ प्रतिष्ठित कलाकारहरूको उपस्थिति रहेको थियो ।