• १८ पुस २०८२, शुक्रबार

स्याङ्जामा एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

blog

अर्जुन काफ्ले
स्याङ्जा, पुस १८ गते ।
सुन्तला उत्पादनमा देशकै अग्रणी जिल्ला स्याङ्जामा यस आर्थिक वर्षमा एक अर्ब ३२ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।

यहाँ दुई हजार चार सय हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएकोमा एक हजार ४२० हेक्टरमा सुन्तला फल्दा २३ हजार २३८.५ मेट्रिक टन उत्पादन भएको हो । यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो ५७ रुपियाँका दरमा बिक्री हुँदा सो रकम पर्ने भएको हो ।

यस आवमा उत्पादन भएको सुन्तला गत आवभन्दा २० करोडले बढी रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाले जनाएको छ ।

गत आवमा दुई हजार २५० हेक्टरमा सुन्तला लगाइएकोमा यो आवमा दुई सय हेक्टर विस्तार भएको हो । सुन्तलाका लागि अनुकूल वातावरण, भूभाग वृद्धि र उत्पादन दिने बिरुवाको सङ्ख्यामा वृद्धि भएसँगै स्याङ्जामा सुन्तला उत्पादन बढेको हो ।

परियोजना प्रमुख अजय अधिकारीले सुन्तला फूल्ने र फल्ने मौसममा असिना पानी नपरेको र रोग किराको सङ्क्रमण नहुँदा उत्पादकत्वमा वृद्धि भएको बताउनु भयो ।

उत्पादित सुन्तलाको १० प्रतिशत अर्थात दुई हजार ३५६ मेट्रिक टन आन्तरिक खपत हुने गरेको छ भने २० हजार ८८२ मेट्रिक टन देशभित्रै निर्यात हुने परियोजनाले जनाएको छ ।

स्याङ्जामा उत्पादित सुन्तला पोखरा, काठमाडौँ, चितवन र बुटवल निर्यात हुँदै आएकोमा यस बुटवलमा चिसोका कारण कम सुन्तला पुगेको हो ।

आउने वर्षहरूमा उत्पादन दिने बिरुवा थपिने जाने र प्रत्येक वर्ष सुन्तला खेती विस्तार र उत्पादनमा वृद्धि हुँदै जाने गरेको बताउँदै अधिकारीले मौसमले साथ दिएमा स्याङ्जामा सुन्तला उत्पादन बढ्ने बताउनु भयो ।

स्याङ्जाका ११ वटै पालिकाका व्यावसायिक रूपमा सुन्तला खेती हुँदै आए पनि पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकालाई पकेट क्षेत्र कायम गरिएको छ ।

यस्तै फेदीखाेला, आँधीखोला र बिरुवा गाउँपालिकालाई नयाँ पकेट क्षेत्र बनाएर सुन्तला खेती विस्तार गरिएको रहेको सुन्तला सुपरजोन कार्यान्वयन समितिका अध्यक्ष बोधराज अर्यालले बताउनु भयो ।

सुन्तला खेतीबाट यहाँका कृषकले प्रति परिवार बर्सेनि २५ हजार देखि ५५ लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । बिरुवा रोपेको पाँच वर्षभित्रमा र कलमी गरेर तयार गरिएको बिरुवाले रोपेको तीन वर्षमै फल दिने गर्दछ ।