झापा, पुस १८ गते । जङ्गली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाको विभिन्न स्थानमा बिहीबार एकै दिन तीन वटा घरसहित लाखौँको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।
कमल गाउँपालिका-३, बगाले टोलस्थित गणेश बस्नेतको टिनको छानो भएको घर, भद्रपुर नगरपालिका-७, डाँफे चोकस्थित ऋषि भट्टराईको एकतले पक्की भवनको भान्सा घर र बिर्तामोड नगरपालिका–८, किशनभिट्टास्थित टङ्क बराइलीको टिनको छानो भएको कच्ची घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनु भयो ।
कमल–३ का गणेश बस्नेतले रातको समयमा घरभित्र पसेका तीन वटा हात्तीले मूलघर आंशिक रूपमा र भान्साघर पूर्णरूपमा क्षतिग्रस्त बनाएको बताउनु भयो । हात्तीले उहाँको घरमा चार मन धान र चार मन मकैको पीठो खाएको थियो भने लत्ताकपडा, भाडाबर्तन, फर्निचर गरी एक लाख बराबरको धनमाल क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिनु भयो ।
भद्रपुरका ऋषि भट्टराईको घर र भान्साघर भत्काउँदा २२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छभने बिर्तामोडका टङ्क बराइलीको घर भत्किँदा र अन्नबाली खाइदिँदा ४५ हजार बराबरको क्षति भएको छ । प्रहरीका सूचना अधिकारी खड्काका अनुसार बराइलीको एकतले कच्ची घरको टाटी भत्काएर हात्ती भण्डार कोठामा पसेको थियो । भण्डारमा रहेको आठ क्विन्टल धान र एक क्विन्टल चामल हात्तीले खाइदिएको थियो । रासस