• १७ पुस २०८२, बिहिबार

मानाभरा गोल्डकप : नवप्रयास युथ सेमिफाइनलमा

blog

सेमिफाइनल प्रवेश गरेको नवप्रयास युथ क्लब हाङ्देवाका खेलाडी । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १७ गते । हाङ्देवाको नवप्रयास युथ क्लब फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा मेरिङ्देन गाउपालिका–४ लिङ्तेपको प्रगतिशील युवा क्लबलाई २–० गोलले पराजित गर्दै नवप्रयास सेमिफाइनलमा पुगेको हो ।

नवप्रयासको जितका लागि दुवै गोल निश्चल मोक्तानले गर्नुभएको थियो । यता प्रगतिशील युवा क्लबका खेलाडीले गोल फर्काउने अन्तिमसम्म प्रयास गरे पनि सफल हुन सकेनन् । नवप्रयाससँग पराजित प्रगतिशीलले प्रतियोगिताबाट बाहिरिनुपरेको छ ।

यता बिहीबारको खेलसँगै आमन्त्रित प्रथम मानाभारा गोल्डकप पुरुष फुटलबल प्रतियोगिताको क्वार्टरफाइनल चरणको समीकरण पुरा भएको छ । अब शुक्रबार एकैदिन सेमिफाइनल चरणको दुई खेल हुने आयोजक मानाभरा स्पोर्टिङ क्लबका अध्यक्ष तुलसी दाहालले जानकारी दिनुभयो ।

प्रतियोतिगामा यसअघि माछापोखरी हिटी क्लब चाँगे, लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुम्खिम र जनसेवा आदर्श क्लब ढुङ्गेसाँघु सेमिफाइनलमा पुगेका छन् ।

क्लबका अध्यक्ष दाहालकाअनुसार शुक्रबार हुने सेमिफाइनलको पहिलो खेल माछापोखरी हिटी क्लब र जनसेवा आदर्श क्लबबिच हुने छ । दोस्रो खेल लालीगुराँस स्पोर्टिङ युवा क्लब र नवप्रयास युथ क्लबबिच हुने छ ।

प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाइनल भने शनिबार हुने आयोजकले जनाएको छ ।