• १७ पुस २०८२, बिहिबार

धनुषाको कमलामा जनप्रतिनिधि विवाद

पाँच महिनादेखि तलब नपाएपछि शिक्षक धर्नामा, विद्यालय बन्द

blog

धनुषाको कमला नगरपालिका कार्यालय र नगरपालिका अगाडि आन्दोलनमा रहेका शिक्षकहरु । तस्बिर : लक्ष्मी चौधरी

जनकपुरधाम, पुस १७ गते । धनुषाको पूर्वी भेगमा अवस्थित कमला नगरपालिकामा जनप्रतिनिधिहरूबिचको आन्तरिक विवादका कारण चालू आर्थिक वर्षको बजेट पारित हुन नसक्दा साढे पाँच महिनादेखि तलब नपाएका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् ।

नगरपालिका क्षेत्रका मदरसा र सामुदायिक विद्यालय गरी कुल १८ विद्यालयमा कार्यरत शिक्षकहरूले साउनयता तलब–भत्ता नपाएको गुनासो गर्दै पुस १ गतेदेखि विद्यालय बन्द गर्दै धर्नामा बसेका हुन् । विद्यालय बन्द हुँदा ६ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ भने अभिभावकहरू समेत चिन्तित देखिएका छन् ।

नगरपालिकाको हथमुण्डास्थित प्रगतिशील माध्यमिक विद्यालयकी प्राथमिक शिक्षिका मञ्जु कुमारी महतोले भन्नुभयो, “विगत पाँच महिनादेखि तलब पाएका छैनौँ । पटक–पटक नगरपालिकालाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएन । जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण शिक्षक, कर्मचारी र विद्यार्थी सबै मारमा परेका छन् ।”

उहाँका अनुसार विद्यालय निरन्तर बन्द हुँदा बालबालिकाको मनोविज्ञान र पढाइमा गम्भीर असर परेको छ । “राजनीतिक झगडाका कारण बच्चाहरू किताब होइन, आन्दोलन हेर्न बाध्य छन्,” उहाँले भन्नुभयो ।

यता नगरपालिकाका उपप्रमुख शिला देवी मण्डलले पनि पालिकाको आन्तरिक विवादका कारण चालू आर्थिक वर्षमा पालिकाको कुनैपनि काम हुन नसकेको बताउनुभयो । उहाँले पालिका प्रमुखलाई शिक्षक धर्ना विद्यालय बन्दलगायतका पालिकाको समस्या सुनाउँदा पनि वेवास्ता गरेर समस्या समाधा तर्फ अग्रसर नभएको आरोप समेत लगाउनुभयो ।

उहाँले प्रमुख प्रशासकीय अधिकृत र लेखालाई राखेर आयव्यय विवरण देखाएर नगरसभा बोलाउनुसभन्दा पनि पालिका प्रमुखले नमानेपछि यस्तो समस्या आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरप्रमुखले पहिला बजेट बनाउने त्यसपछि आय व्यय देखाउन भन्नुहुन्छ ।”

नगरपालिकामा बजेट बाँडफाँटमा सहमति नजुट्दा शिक्षा मात्र होइन, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षा जस्ता आधारभूत सेवासमेत प्रभावित भएका छन् । नगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव देखिएको छ भने छात्राहरू सेनेटरी प्याडबाट समेत वञ्चित भएका छन् । विकास निर्माणका योजना अलपत्र परेका छन् र स्थानीयले पाँच महिनादेखि सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् ।

शिक्षक मात्र नभई नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, कृषि प्राविधिक, वडा सचिवलगायतका कर्मचारीहरूले समेत दशैं, तिहार र छठजस्ता चाडपर्व बितिसक्दा पनि तलब नपाएको गुनासो समेत गर्दै आएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार चालू आर्थिक वर्षको असार १० गतेभित्रै नगरसभा सम्पन्न हुनुपर्ने कानुनी व्यवस्था भए पनि कमलामा अहिलेसम्म नगरसभा नबोलाइँदा चालू आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन ।

यता कमलाका नगरप्रमुख विशेश्वरप्रसाद यादवले  प्रमुख प्रशासकीय अधिकृत र लेखा कर्मचारी नहुँदा नगरसभा समयमा हुन नसक्दा शिक्षक तथा कर्मचारीहरूले तलब पाउन नसकेको बताउनुभयो ।

नगरप्रमुखका अनुसार असार १० गते नगरसभा गर्ने विषयमा जनप्रतिनिधिहरूबिच सहमति हुन सकेको थिएन । जनप्रतिनिधिहरूले असार महिनाको भुक्तानी सम्पन्न भएपछि मात्र नगरसभा गर्ने अडान लिएका थिए । तर असारपछि सङ्घीय सरकारले कर्मचारी नगरपालिकामा नपठाएपछि समयमै नगरसभा हुन नसकेको जानकारी दिनुभयो । नगरसभा नहुँदा बजेट स्वीकृत हुन नसक्दा शिक्षक तथा कर्मचारीहरूको तलब रोकिएको नगरप्रमुख यादवको भनाइ छ ।

हाल शिक्षकहरूसँग सहमति भइसकेको र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पनि हाजिर भइसकेको जानकारी दिँदै उहाँले छिट्टै नगरसभा बोलाइने र त्यसपछि शिक्षक तथा कर्मचारीहरूको तलब छिट्टै व्यवस्थापन गरिने बताउनुभयो ।

उपप्रमुख मण्डलकोे सो नगरपालिकामा दोस्रो कार्यकाल हो भने नगरप्रमुख यादवको पहिलो । यसअघिको कार्यकालमा पनि पालिकामा विवाद हुँदा महिनौं कामकाज थप्प हुने गरेको थियो ।

Author
लक्ष्मी चौधरी

उहाँ गोरखापत्रका लागि जनकपुरधामबाट रिर्पोटिङ गर्नुहुन्छ ।