• १६ पुस २०८२, बुधबार

सञ्चारकर्मी यात्रु सम्मानित

blog

वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु तामाङ सम्मानित हुनुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १६ गते । वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु तामाङ सम्मानित हुनुभएको छ । उहाँसँगै पाँच जना आदिवासी अधिकारकर्मीलाई ह्योल्मो समुदायले अभिनन्दन गरेको छ ।  

नेपाल ह्योल्मो महिला सङ्घ, ह्योल्मो सञ्चार समूहसमेतको आयोजनामा भएको कार्यक्रममा इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निर्मातासमेत रहनुभएका सञ्चारकर्मी यात्रु सम्मानित हुनुभएको हो । 

सञ्चारकर्मीमार्फत आदिवासी ज्ञान, आदिवासीको प्रथाजनित संस्था र भूमि, भूभाग र भूक्षेत्रको अधिकार पुनस्र्थापनामा विशेष योगदान दिएको भन्दै सो सम्मान गरिएको छ । 

सञ्चारकर्मी यात्रुलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले अभिनन्दनसहितको सम्मानपत्र प्रदान गर्नुभयो । नेपाल ह्योल्मो महिला सङ्घकी अध्यक्ष किन्जो ओमु ह्योल्मो र सञ्चार समूहका अध्यक्ष टाँसी ह्योल्मोले अभिनन्दनमा हस्ताक्षर गर्नुभयो ।  

सञ्चारकर्मी यात्रुले ह्योल्मो प्रथाजनित संस्था ह्युलठिमको अनुसन्धान र ह्युठिमको संरचना तथा सांस्कृतिक कार्यक्रममार्फत पर्यटन प्रवर्धनसम्बन्धी वृत्तचित्र निर्माण गर्नुभएको छ । 

सोही कार्यक्रममा वरिष्ठ आदिवासी मानवअधिकारकर्मी शङ्कर लिम्बूलाई पनि अभिनन्दनसहित सम्मान प्रदान गरिएको छ । नेपालका अदिवासीको मानव अधिकारसम्बन्धी वकिल समूह लाहुर्निपका उपाध्यक्षसमेत रहनुभएका लिम्बू  संयुक्त राष्ट्रसङ्घ मानव अधिकार आयोगबाट समेत पुरस्कृत हुनुभएको छ । 

उहाँ आदिवासीको मानवअधिकार उल्लङ्घनविरुद्ध निःशुल्क कानुनी सहायता प्रदान गर्दै आउनुभएको छ । यसैगरी कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र ल्हासाका लागि पूर्व महावाणिज्यदूत विनोद ह्योल्मो समेतलाई सम्मान र अभिनन्दन गरिएको छ । 

नेपाल ह्योल्मो समाज सेवा संघकी अध्यक्ष रेन्जेन डोल्मा ह्योल्मोको समेत उपस्थितिमा भएको कार्यक्रममा ह्योल्मोजन्य प्रथाजनित संस्थाका प्रतिनिधिका रुपमा लामा, गोवा, च्यिवालगायतको उपस्थिति थियो ।