चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १६ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आयोजना गरेको पालिकाभित्र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नारायणी माध्यमिक विद्यालय प्रथम भएको छ । कुल ५७ पदकका साथ नारायणी मावि प्रथम भएको हो ।
प्रतियोगितामा नारायणी माविले २१ स्वर्ण, २६ रजत र १० कास्य पदक जितेको छ । दोस्रो बनेको मैवाखोला माध्यमिक विद्यालयले ५६ पदक जितेको छ । मैवाखोला माविले प्रथम बनेको नारायणी माविले भन्दा स्वर्ण पदकको सङ्ख्या बढी जितेको छ । मैवाखोलाले स्वर्ण पदक २८, रजत २३ र कास्य पदक पाँच जितेको छ ।
यस्तै तेस्रो बनेको महेन्द्र माध्यमिक विद्यालयले स्वर्ण पदक १५, रजत एक र कास्य १० गरी कुल २६ पदक जितेको छ । जनकल्याण माध्यमिक विद्यालयले दुई स्वर्ण, चार रजत र पाँच कास्य गरी ११ पदक र नतिजामा अन्तिम बनेको पाटीडाँडा माध्यमिक विद्यालय भने स्वर्ण पदकविहीन बनेको छ ।
पाटीडाँडा माविले जितेको कुल चार पदकमध्ये रजत एक र कास्य तीन छ । प्रतियोगिताका विजेतालाई गाउँपालिका अध्ययक्ष विजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनलगायतले शिल्ड, कप, पदक र प्रमाणपत्रहरु वितरण गर्नुभएको थियो ।
गाउँपालिकाको प्रशासकीय केन्द्र वडा ३ साँघुस्थित नारायणी माविको संयोजन तथा व्यवस्थापनमा अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा पालिकाभित्रका पाँच वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।