• १६ पुस २०८२, बुधबार

अंग्रेजी नयाँ वर्ष मनाउने पर्यटकले कन्याम र अन्तु भरीभराउ

blog

प्रेम अधिकारी
पशुपतिनगर(इलाम) पुस १६ गते ।
अंग्रेजी नयाँ वर्ष २०२६ मनाउने पर्यटकले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइका गन्तव्य कन्याम र अन्तु भरीभराउ भएका छन् । बाह्रै महिना पर्यटकले भरीभराउ हुने कन्याम र अन्तुमा अंग्रेजी नयाँ वर्ष मनाउन यस पटक पनि पर्यटक उल्लेखीय सङ्ख्यामा आउदा यहाँका पर्यटकीयस्थल भरीभराउ भएका हुन् ।

कन्याम र अन्तु आउने पर्यटकले अग्रिम होटल तथा होमस्टे बुकिङ गरेका छन् । नेपाल र भारतीय पर्यटकले अग्रिम रुपमा होटल, होमस्टे बुकिङ गरिसकेका छन् । गत वर्ष पनि अंग्रेजी नयाँ वर्षमा पर्यटकले यी क्षेत्र भरीभराउन थिए  

सधैँ भिड हुने यी क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकको चाप बढने र  कोठा नपाइने भए पछि पर्यटकले अग्रिम बुकिङ गरेको अन्तु पर्यटन व्यावसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तुका अधिकांश होटल, होमस्टे तथा कटेज मङ्गलबारदेखि शनिबारसम्मका लागि बुकिङ भइसकेका छन् । घिमिरेले भन्नुभयो, ‘अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटक  यसपाली  ६५ प्रतिशत बढी भारतीय छन् ।’’

छिमेकी देश भारतको सिक्किम, मिरिक, सिलीगुडी, दार्जिलिङ र पश्चिम बंगालका पर्यटकले होटल बुक गरिसकेका छन् । अन्तुमा ६४ बढी सामुदायीक तथा नीजि होमस्टे छन् । सानाठूला गरी ५० बढी होटल तथा कटेज सञ्चालनमा रहेका छन् । बंगाली पर्यटकले पछिल्लो समय अन्तु, कन्याम रोज्ने गरेको पाइन्छ ।

अन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोक गर्न आउने गरेका छन् । यस्तै अन्तु पोखरीमा डुंगा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटक रुचाउ छन् । अन्तुबाट कञ्चनजङ्घा, कुम्भकर्णसहितका हिमालका दृश्यावलोकन गर्न सकिन्छ । चियावारी र फुलवारी भित्र चिटिक्कै सजाइएका काठका घर अनि स्थानीय उत्पादनको स्वाद चखाउदै चलाइएका होमस्टेले पर्यटकलाई तान्ने गरेको होमस्टे व्यवसायी धनकुमार आलेले जानकारी दिनुभयो ।  अन्तु आउनु भएका स्वदेशी पर्यटक गोकुल काफ्लेले जति पटक आए पनि अन्तु र कन्याम आइरहुलाग्ने बताउनुहुन्छ । अन्तुमा तीन हजार पाँच सयदेखि चार हजार पर्यटकले अग्रिम रुपमा होटल बकिङ गरिसकेको व्यवसायी संघका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

कन्याम पनि अङ्ग्रजी नयाँ वर्ष मनाउने पर्यटकले खचाखच छ । पर्यटकले अहिले कन्याम समेत भरीभराउ भएको कन्यामका होटल व्यवसायी टेकराज गिरीले जानकारी दिनुभयो । ‘‘ढिलो गर्दा कोठा पाइदैन भनेर पर्यटकले अग्रिम बुकिङ गरेका हुँन ।,’’ व्यवसायी गिरीले भन्नुभयो । बिगत ५/६ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्ष पर्वकै रुपमा यहाँ मनाउन थालिएको छ । सीमावर्ती दुई छिमेकी देशका पर्यटकले नेपाली र  अङ्ग्रेजी दुबै नयाँ वर्ष उल्लासका साथ मनाउने क्रम बढेको छ ।

कन्याममा भ्रमणमा आउने र बनभोजका लागि आउने पर्यटक बढी छन भने बङ्गाली पर्यटक समेत उल्लेखिय सङ्ख्यामा आएका छन् । कन्याममा चियाबारीमा रमाउने पर्यटक बढी भेटिन्छन् । विभिन्न जातजातीको भेषभुषामा सजिएर तस्बिर खिचाउनेदेखि चियाको स्वाद चाख्नसम्म पर्यटक आउने गरेका छन् । सूर्योदय नगरपालिकाले कन्याममा पर्यटकलाई लक्षित गरी सेल्फी पार्क, टिकटक पार्क र नीजि लगानीमा स्काई वल्क समेत निर्माण गरिएको छ । पर्यटक राति अवेरसम्म कन्याममा रमाउने गरेका छन् ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले स्वदेशी पर्यटकको रोजाइमा परेको अन्तु र कन्याममा पछिल्लो समय भारतीय पर्यटकको समेत आकर्षण बढेको बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्ष मनाउने पर्यटकले इलामको उच्च हिमाली क्षेत्र सन्दकपुर समेत खचाखच छ ।