रमेश विश्वकर्मा
गुल्मी, पुस १६ गते । गुल्मीमा बिहानको हुस्सुसँगै चिसो दिनप्रति दिन बढ्दै गएको हुँदा जनजीवन प्रभावित बन्दै गएको छ । बाक्लो हुस्सु र रातभरिको चिसोका कारण तुसारो परेको हुँदा बिहानको समयमा मानिसहरु बाहिर काममा निस्कन निकै गाह्रो मान्ने गर्छन् ।
बिहानको बाक्लो हुस्सुका कारण अत्याधिक चिसो बढ्दा बालबालिका, वृद्धवृद्धा, मजदुर र गरिब, विपन्न नागरिक बढी प्रभावित हुने गरेका छन् । चिसोका कारण सहज रुपमा बिहानको समयमा घर बाहिरको काममा निस्कन नसकेको यहाँका स्थानीयहरु बताउछन् । पहिले समयमै सूर्य देख्न सकिन्थ्यो, पछिल्लो समय खोला लाइनतिर झण्डै ११ बजेको समयतिर सूर्य देख्न सकिन्छ ।
यो समयसम्म खोला लाइनतिर बाक्लो हुस्सु र कुहिरोले छोड्दैन । चिसोले मनिसहरुको बिहानी काममा प्रभाव पारेको हुन्छ । सवारी साधनको आवतजावतमा समेत प्रभाव पारेको छ । इस्मा गाउँपालिका वडा नम्बर–६, अमरपुरका रेशम कुँवरले बिहानको बाक्लो कुहिरो र हुस्सुका कारण बढ्दै गएको चिसोले खोला लाइनका नागरिक प्रभावित भएको बताउनुभयो ।
यसैगरी, मदाने गाउँपालिका वडा नम्बर–१, अग्लुङ्का धनबहादुर विश्वकर्माले रातभरिको चिसोसँगै परेको तुसारोका कारण बिहानी काम प्रभावित बन्दै गएको बताउनुभयो । बिहानैदेखि घरसँगै बाहिरको काम गर्नुपथ्र्यो चिसोले समस्या पारेको उहाँले बताउनुभयो । चिसोले कृषिको काममा प्रभाव पारेको उहाँको भनाइ छ । यहाँ बाक्लो हुस्सुसँगैको चिसोका कारण बिहानी समयमा सवारीसाधन चलाउन समेत समस्या देखिएको छ ।