• १६ पुस २०८२, बुधबार

माछापोखरी मानाभारा गोल्डकपको सेमिफाइनलमा

blog

आयोजकलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको टीम चाँगे माछापोखरी हिटी क्लब । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, पुस १६ गते ।
आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लबले विजयी सुरुआत गर्दै प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबारबाट सुरु भएको उद्घाटन खेलमा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै चाँगे सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । आयोजकका कप्तान मनराज लिम्बूले खेलको ५१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनु भएको थियो । तर ५८ औँ मिनेटमा चाँगेका दिपेश श्रेष्ठले गोल गर्दै बराबरी गर्नुभयो । त्यस्तै पुन श्रेष्ठले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ गोलअन्तरले पछि पार्दै अघि बढेको ४ मिनेटपछि आयोजकका विवेक लिम्बूले गोल गरेर बराबरीमा रोक्न सफल हुनुभएको थियो ।

बुधबार क्वार्टरफाइनलका दुई खेल हुनेछन् । पहिलो खेलमा सिँवा स्पोर्टिङ क्लब लिङ्खिम र सिदिङ्वा गाउँपालिका ७ सुरुम्खिमको लालीगुराँस फुटबल क्लबबिच खेल हुनेछ । यसैगरी, आमन्त्रित टोली लिखु भुजी युथ क्लब रामेछाप र मैवाखोला गाउँपालिकाको जनआदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच दोस्रो खेलमा भिडन्त हुनेछ ।

मानाभारा युथ स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल पुस १९ गते हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । खेलको विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।