घोराही समाचारदाता
घोराही (दाङ), पुस १६ गते । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका व्रmममा चार वर्षअघि काटिएका रुखको विवरण र राजस्व डिभिजन वन कार्यालय घोराहीले अझै प्राप्त गर्न सकेको छैन । कटान गरिसकेका रुखको विवरण र राजस्व सङ्कलन नहुँदा चार लेन सडक अन्तर्गत सडकमा पर्ने बचेका रुख कटानमा समस्या भएको छ ।
सडक निर्माणका लागि २०७५ माघ १४ गते ठेक्का सम्झौता भए पनि समयमा काम हुन नसक्दा २०७९ चैत २६ गते ठेक्का तोडिएको थियो । पटक पटक म्याद थप गर्दा पनि सडक निर्माणको काम अलपत्र परेपछि ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत सडक निर्माणको काम अघि बढिसक्दासमेत पुरानो ठेक्का अनुसार कटान गरिएका रुखको विवरण र राजस्व डिभिजन वन कार्यालयले प्राप्त गर्न नसकेको हो ।
डिभिजन वन कार्यालय घोराहीका प्रमुख डिभिजनल अधिकृत बसिन्द्रराज सुवेदीका अनुसार रुख कटानका लागि डिभिजन वन घोराही र सडक विभाग, भालुवाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर चार लेन सडक आयोजनाबिच २०७७ असार २६ गते सम्झौता भएको थियो । सम्झौता अनुसार घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने एक हजार २७५ वटा रुखमध्ये एक हजार एक सयभन्दा बढी रुख काटिएको अनुमान छ । उहाँका अनुसार काटिएका रुखको विवरणसँगै तिर्नुपर्ने राजस्व, सङ्कलन भएका काठ, दाउराको तथ्याङ्क पटक पटक तत्कालीन सडक निर्माणको जिम्मेवारी पाएको आयोजनासँग माग गरिए पनि पाइएको छैन ।
सडक आयोजनासँग डिभिजन वन कार्यालयको सम्झौता भएकाले आयोजनाले नै जिम्मा लिनुपर्ने उल्लेख गर्दै पटक पटक ताकिता गर्दै पत्र लेखिएको भन्दै सुवेदीले भन्नुभयो, “काटिएका रुख र त्यसबाट उत्पादन भएका काठ र दाउराको लगत सङ्कलनका लागि हामीले ताकिता गरेका छौँ तर अहिलेसम्म न विवरण, न काठ, केही प्राप्त भएको छैन, राजस्व पनि पाएका छैनौँ ।”
सुवेदीका अनुसार रुख काटेबापत तत्कालीन सडक आयोजनाले काठको मूल्य बराबर राजस्व करिब ३८ लाख ६९ हजार १३३ रुपियाँ बुझाउनुपर्ने र त्यसका लागि कार्यालयले आयोजनाका नाममा पछिल्लो पटक २०८० असार २० गते पत्र पठाए पनि अहिलेसम्म कुनै जवाफ आएको छैन । तत्कालीन समयमा घोराही–तुलसीपुर चार लेन सडक भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले निर्माणको जिम्मेवारी पाएको थियो ।
सडकको सडक सीमा केन्द्र रेखाबाट १५÷१५ मिटर सडक सीमाभित्र परेका रुख कटान गर्न २०७७ भदौ मसान्तसम्म म्याद पाएको आयोजनाले कोभिडका कारण ४८५ वटा रुख कटान गर्न बाँकी रहेकाले म्याद थप गर्न वन डिभिजन कार्यालयमा निवेदन दिएको थियो । असोज मसान्तसम्म म्याद थप गरिदिन २०७७ भदौ १ गते आएको पत्रका आधारमा वन कार्यालयले भदौ ५ गते नै असोज मसान्तसम्मको म्याद थप गरेको थियो ।
थपिएको म्यादमा काट्नुपर्ने कति रुख कटान भए त्यसको रेकर्डसमेत वन कार्यालयलाई आयोजनाले नपठाएको आयोजना प्रमुख सुवेदी बताउनुहुन्छ । त्यही व्रmममा बचेका रुख अहिले सडक विस्तारका व्रmममा काट्नुपर्ने अवस्था भएको र रुखको विवरण सङ्कलन भइरहेको उहाँको भनाइ छ । कार्यालयका अनुसार सडक विस्तारका सिसौ, आँप, सिमल, जामुना, इपिलिइपी, चिउरी, बकाइनो, वरपिपललगायतका रुख कटान गरिएको थियो ।