• १४ असार २०८१, शुक्रबार

दमक नगरपालिकाको नगर सभामा विवाद

blog

दमक नगरपालिकाको एघारौ नगर सभाको दोस्रो वैठकमा नगर प्रमुख अघि प्रदर्शन गर्दै नगर सभा सदस्यहरु । तस्विर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, असार २७ गते । झापाको दमक नगरपालिकाको ११ औ नगरसभाको दोस्रो वैठकमा नीति तथा कार्यक्रम र बजेटको बिषयमा छलफल हुँदा विवाद सिर्जना भएको छ । सोमबार दिउँसो नगर सभा बसेको केही समयपछि शुरु भएको विवाद आधा घण्टाभन्दा बढी चलेको थियो ।

नगर सभाका सदस्यहरुले आफ्नो माग तथा भनाइ राख्न नपाएको र मत बिभाजन नै नगरी नीति तथा कार्यक्रम र बजेट पास भएको भनेर नगर प्रमुख रामकुमार थापाले भनेपछि प्रतिकार गरेको दमक नगरपालिका ६ का वडा सदस्य कमल श्रेष्ठले बताउनुभयो । “नगर सभामा हामीले जनताका माग र ग्ुनासो राख्न पाउनु पर्छ भन्दा राख्न दिइएन” श्रेष्ठले भन्नुभयो ।

नगर सभाको दोस्रो बैठकअघि नगर कार्यापालिका बोर्डको बैठक नै नबसेको र आफुहरुले नगर सभामा उठाएका मागको बिषयमा कुनै सम्बोधन नगरी नीति तथा कार्यक्रम र बजेट पास गर्न खोजिएकाले नगर सभामा आफुहरुले कुरा उठाएको दमक नगरपालिका ३ का वडाध्यक्ष नविन बरालले बताउनुभयो ।

नगर सभा बैठकअघि नगरपालिकाको कार्यपालिका बैठकमा छलफल गरेर महत्वपूर्ण प्रस्ताव ल्याउने परम्परा थियो, तर नगर प्रमुखले ‘मेरो अधिकार हो’ भनेर नगर सभामा भनेपछि विवाद भएको उहाँको भनाइ छ । ‘हामी नीति तथा कार्यक्रम र बजेट पास गर्ने उद्देश्यले आएका थियौं, तर त्यो वातवरण बनेन’ नगर सभा सदस्य ललितकुमार विश्वकर्माले बताउनुभयो ।

मत बिभाजन नै नगरी नगर प्रमुख थापाले मत बिभाजन नै नगराई नीति तथा कार्यक्रम र बजेट पास भएको भनेपछि हलभित्र होहल्ला भएको थियो । नेकपा (एमाले) बाट निर्वाचित बनेका नगर सभा सदस्यहरुले नगर सभाका सभाध्यक्ष एवम् नगर प्रमुख थापाको अगाडि गएर प्रदर्शन गरेपछि दोहोरो बादबिबाद भएको थियो । 

“बहुमतले पेलेर ह्ुँदैन । म नियमसँगत तरिकाले चल्छु भनेर मैले स्पष्ट रुपमा भनेको छु र यसै गरेको हुँ” नगर प्रमुख थापाले भन्नुभयो । नगर सभा सौहाद्रपूर्ण रुपमा अघि बढ्न नसकेपछि बैठक स्थगित गरिएको थापाले बताउनुभयो । असार २९ गते बुधबारका लागि पुनः ११ औ नगर सभाको तेस्रो बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो ।