काठमाडौँ, पुस १५ गते। भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताउनुभएको छ।
सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताउनुभयो।
उहाँले कम बजेटमा ठेक्का लिने, काम नगर्ने र जनतालाई दुःख दिने काम भएकोले बाध्य भएर ठेक्का तोड्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो।उहाँले सबै निर्माण व्यवसायी गलत भने नभएको बताउनु भयो।
समयमा नै काम गर्ने निर्माण व्यवसायीहरु पनि रहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई प्रोत्साहन गर्ने गरेको बताउनु भयो।निर्माणमा समस्या देखिएका केही ऐन र नियामावलीमा संशोधन गर्ने तयारी पनि गरिरहेको उहाँले जानकारी दिनुभयो ।
निर्माण व्यवसायी विना देशको सम्रग विकास सम्भव नहुने उल्लेख गर्नुहुँदै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताउनु भयो।विकास बजेट खर्च निर्माण व्यवसायीमार्फत मात्रै हुने उहाँको भनाई छ।निर्माण व्यवसायीको क्षमता विकास गर्नतिर ध्यान दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘अहिले हामी जतिपनि निर्माण व्यवसायीहरुलाई धेरै ठाउँमा ठेक्का तोड्ने र ठेक्कालाई व्यवस्थापन गर्ने काम गरिरहेका छौँ।धेरै ठेक्का तोड्ने कामहरु पनि भइरहेको छ।त्यो वास्तवमा हाम्रो वाध्याता हो।वर्षौसम्म काम नभएका ठेक्काहरु तोडिएको हो।धेरै वर्षसम्म काम नहुने र जनतालाई धेरै नै दुःख हुने, धेरै विलोमा आएर ठेक्का लिने र काम नहुने अवस्थालाई व्यवस्थापन गर्नलाई बाध्य भएर हामीले ठेक्का तोड्नुपर्ने अवस्था हो।त्यो भन्दैगर्दा सबै निर्माण व्यवसायीलाई हामी गलत भनेको होइन।धेरै राम्रा निर्माण व्यवसायीहरु पनि छन्, जसले राम्रा काम पनि गरेका छन्।सहि समयमा काम गरेका पनि छन्।त्यस्ता व्यवसायीहरुलाई हामीले निरन्तर रुपमा प्रोत्साहन पनि गरेका छौँ ।’
उहाँले सडक बोर्डमार्फत काम गर्नका लागि धेरै नै माग आउने गरेको बताउनुभयो।तर बजेट धेरै कम भएकोले मागअनुसार काम गर्न समस्या रहेको उहाँको भनाइ छ।उहाँले संघीयताको मर्म नबुझ्दा सडक मर्मतका काममा समस्या देखिएको बताउनुभयो।स्थानीय तह र प्रदेशले मर्मत गर्ने सडकलाई पनि संघीय सरकारलाई देखाएर काम नहुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।