• १५ पुस २०८२, मङ्गलबार

‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक तथा शारीरिक क्षमता बढाउँदै

blog

काठमाडौँ,  पुस १५ गते । बालबालिकाका लागि ‘स्वर्णविन्दु प्राशन’ प्रभावकारी बन्दै गएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले गरेको प्रारम्भिकअनुसन्धानमा ‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक विकास र रोगप्रतिरोधात्मक क्षमता बढाएको विभागका निमित्त महानिर्देशक डा.श्यायबाबु यादवले जानकारी दिनुभयो । 

विभागले चितवन र दाङमा गरेको अध्ययनअनुसार यस विषयमा पढ्न रुचि र भोक तथा पाचन प्रणालीमा पनि सुधार गरेको बताउनुभयो ।

 एक वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाको बौद्धिक विकास, रोगव्याधिसँग लड्न क्षमता बढाउन र शारीरिक विकासका लागि सरकारले गत भदौ ५ गतेदेखि ‘स्वर्णविन्दु प्राशन’ अभियान थालेको हो ।

“अहिले विभागले देशभरिका २१ जिल्लाका २५ आयुर्वेदिक चिकित्सालयबाट ‘स्वर्णविन्दु प्राशन’ खुवाउन थालेको छ । ‘स्वर्णविन्दु प्राशन’ खाएपछि बालबालिका पटक पटक बिरामी हुन छाडेका छन् । पढ्न रुचि पनि बढेको छ,” विभागका डा सुशान्त भण्डारीले भन्नुभयो, “बालबालिकालाई खानपानमा पनि रुचि बढेको छ र उनीहरु फुर्तिलो समेत भएका छन् ।”

‘स्वर्णविन्दु प्राशन’ तीन घण्टाको समिश्रणबाट तयार पारिएको हुन्छ । स्वर्ग भष्म (सुनलाई आयुर्वेद पद्धतिबाट बनाइएको भष्म), घ्यू (वाह्मी घृत) र मह मिलाएर बनाउने गरिन्छ । स्वर्ण भष्म तीन मिलिग्राम, घ्यू दुई मिलिग्राम र मह एक मिलिग्राम मात्रा राखेर ‘स्वर्णविन्दु प्राशन’ तयार पार्ने गरिन्छ । विभागका निमित्त महानिर्देशक डा यादवले पहिले सबै जिल्लास्थित आयुर्वेद चिकित्सालयबाट ‘स्वर्णविन्दु प्राशन’ र त्यसपछि स्थानीय तहमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गर्ने बताउनुभयो ।

एक वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई ३० महिना नियमित खुवाएपछि बौद्धिक विकास, रोगप्रतिरोधात्मक क्षमता वृद्धि र शारीरिक विकास हुन्छ ।