सिराज खान
नेपालगन्ज, पुस १५ गते । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले बाँकेमा सञ्चालन गरेको ‘बक्यौता असुली अभियान’ अन्तर्गत एक महिनामा करिब दुई करोड रुपियाँ बक्यौता असुली गरिएको छ ।
नेपालगन्ज वितरण केन्द्रका प्रमुख संजयकुमार मिश्राका अनुसार मङ्सिर १४ गतेबाट सञ्चालन गरिएको ‘बक्यौता असुली अभियान’ पुस १४ गते पुग्दा एक महिनामा १३५५ जना ग्राहकको लाइन काटेर एक करोड ८१ लाख ५२ हजार ७३८ रुपियाँ असुली गरिएको छ ।
लामो समयदेखि विद्युत् महसुल नतिर्ने १३५५ जना ग्राहकहरूको लाइन काटिएकोले ती मध्ये ९१२ जना ग्राहकले एक महिनाको अवधीमा विद्युत् वितरण केन्द्र नेपालगन्जमा पुगेर एक करोड ८१ लाख ५२ हजार ७३८ रुपियाँ तिरेर लाइन पुनः सुचारु गराएको वितरण केन्द्रका प्रमुख मिश्राले बताउनु भयो । उहाँले लामो समयदेखि महसुल नतिरेका १३५५ ग्राहकबाट दुई करोड ३३ लाख ६५ हजार २११ रुपियाँ महसुल असुली गर्नु पर्नेमा अझै ४४३ जना ग्राहकले महसुल तिरेर लाइन जोड्न बाँकी रहेको बताउनु भयो ।
सो क्रममा ४ जना ग्राहकलाई कालोपाटीमा राखेर उनिहरूबाट एक लाख ५५ हजार ६०० रुपियाँ असुल गरिएको पनि नेपालगन्ज वितरण केन्द्रका प्रमुख मिश्राले बताउनु भयो ।
वितरण केन्द्रका अनुसार ‘बक्यौता असुली अभियान’ अभियानलाई थप कडाइका साथ निरन्तर चलाइने जनाउँदै लामो समयदेखि महसुल नतिरेका ग्राहकलाई तत्काल आएर महसुल तिर्न आग्रह गर्नुभयो ।
उहाँले प्राधिकरणको नियम अनुसार ६१ दिनभन्दा बढी बक्यौता राख्ने ग्राहकको लाइन जुनसुकै बेला काट्न सकिने व्यवस्था रहेको जनाउँदै लाइन काटेर फेरी जोड्ने झन्झटबाट जोगिन समेत सम्पूर्ण ग्राहकहरूसँग अनुरोध गर्नुभयो ।