नारद कोहार
तौलिहवा(कपिलबस्तु), पुस १५ गते । केही दिनदेखि पश्चिमी हावासँगै बाक्लो हुस्सु तथा शीतलहर हुन थालेपछि कपिलबस्तुमा अत्याधिक चिसो बढेको छ । चिसो बढ्दै गएपछि ग्रामीण बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ ।
अधिकांश क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ । स्थानीय रमेश्वर भुजका अनुसार दिउँसोपख हुस्सु केही कम भए पनि घाम भने नलाग्ने गरेको बताउनु भयो । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरसँगै चिसो हावा चल्दा जनजीवन कष्टपूर्ण छ भने यस समयमा व्यापार घटेका कारण पसले चिन्तित रहेको उहाँको भनाइ छ ।
चिसोले मानिस मात्र नभई घरपालुवा जनावरलाई समेत समस्या भएको भुजले बताउनु भयो । चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र रोगी हुने गरेको किसानहरू बताउँछन् ।
बाक्लो कुहिरोले तेलहन, दलहन, आलु लगायतका खेतीमा असर पुगेको छ । चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ ।
स्वास्थ्कर्मी मोती घिमिरेका अनुसार बढ्दो चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति प्रभावित भएको छ भने स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको बताउनु भयो । जाडोबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलका अनुसार मौसम प्रतिकुलका कारण अत्यधिक चिसो बढेको कारणले पालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयहरूमा पुस १८ गते सम्म जाडो विदा दिइएको बताउनुभयो । उहाँले जाडोमा आगो ताप्नका लागि चोकचोकमा दउरा वितरण गरिएको बताउनु भयो । नगरपालिकाको १२ वटै वडामा दुई टालीका दरले दउरा वितरण गरिएको उहाँको भनाइ छ ।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेका अनुसार विपदको बैठकबाट शीतलहर प्रतिकार्य योजना पास गरिएको बताउनु भयो । उहाँले शीतलहर प्रतिकार्य योजना विषयगत कार्यालय, सम्बन्धित निकायहरूमा पठाइएको बताउनु भयो । उहाँले भन्नुभयो “प्रतिकार्य योजनामा कसको के जिम्मेवारी हुने तयारी कस्तो छ र स्रोत साधनहरुबारे सबै उल्लेख गरिएको छ ।” सबै निकायहरू सँग समन्वय गरी अगाडि बढ्ने सहायक प्रजिअ लामिछानेको भनाइ छ ।