• १५ पुस २०८२, मङ्गलबार

मौरिस हर्जोग पदमार्गबाट फोहोर सङ्कलन

blog

अन्नपूर्ण आधार शिविर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, पुस १५ गते ।
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र आधार शिविर पुग्ने मौरिस हर्जोग पदमार्गमा पर्यटकले फालेको फोहोर सङ्कलन गरिएको छ । पर्यटकीय सिजन असोजदेखि मङ्सिरसम्म आधार शिविरमा पुगेका पर्यटकहरूले फालेको फोहोर एक हप्ता लगाएर सङ्कलन गरिएको हो ।   

अन्नपूर्ण गाउँपालिका र अन्नपूण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयुक्त प्रयासमा मौरिस हर्जोग पदमार्गको हुमखोलादेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल वरपरको फोहोर सङ्कलन गरिएको पर्यटनकर्मी चित्र तिलिजाले बताउनुभयो ।

पर्यटनकर्मी तिलिजाको नेतृत्वमा गाउँपालिकाले खटाएका १० जना र एक्यापका १ जनासमेत ११ सदस्यीय टोलीले मौरिस हर्जोग पदमार्गमा पर्ने छोटेपा, हुमखोला, फुतफुते झरना, साँधीखर्क, गुफाफाँट, भुस्केटमेला, धर्मशाला, पञ्चकुण्ड ताल क्षेत्र, आधार शिविर र पदमार्गमा पदयात्रीले बाटोमा खाएर फालेका आल्मोनियम तथा प्लास्टिकजन्य फोहोरहरू टोलीले सङ्कलन गरी गाउँपालिका केन्द्र पोखरेबगर ल्याइएको छ ।

उहाँका अनुसार त्यहाँ पुग्ने नेपाली तथा विदेशी पर्यटक, सहयोगीहरूले यत्रतत्र फालेका चाउचाउ, इनर्जी चकलेटका, विस्कुट, ड्राईफुडका खोलसमेत प्लास्टिकजन्य फोहोर, रेडवुलजस्ता इनर्जी ड्रिङ्सका बाेटलसमेत १० बोरा करिब ५० किलोग्राम फोहोर सङ्कलन गरिएको छ ।

अन्नपूर्ण प्रथम हिमाल आरोहणमा आएका पर्वतारोहीले क्याम्प बनाएर बस्दा निक्लेको फोहोर सम्बन्धित ट्रेकिङ कम्पनीहरुले र पञ्चकुण्ड तालमा टी–हाउसबाट निक्लेको फोहोर सञ्चालकहरूले सुरक्षित रूपमा हिमाल क्षेत्रबाट तल ल्याई सुरक्षित बिर्सजन गर्नु पर्ने उहाँले बताउनु भयो । ट्रेकिङ कम्पनी र टिहाउस सञ्चालकहरूले व्यवसायबाट निक्लेको फोहोर वेसक्याम्पमै आगो लगाउने गरेको भेटिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘हामीले मौरिस हर्जोग पदमार्गका विभिन्न स्थानहरू र  बिसौनीहरूमा पदयात्रीले यत्रतत्र फालेका फोहोर मात्र टिपेका हौँ । चाउचाउ, चकलेट, बिस्कुटका खोलहरू तथा इनर्जी ड्रिङ्सका बाेटलहरू मात्र १० बाेरा सङ्कलित भयो । ट्रेकिङ व्यवसायी र टिहाउस व्यवसायीहरूले पनि हिमाली क्षेत्रको पर्यावरणीय संवेदनशिलता बुझ्न नसकेको त्यहाँ जलाईएका र जथाभाबी रूपमा फोहोर फालेको देखियो ।’’

अन्नपूर्ण आधार शिविर र पदमार्गलाई सफा बनाउन गाउँपालिकाले सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने पर्यटनकर्मी तिलिजाले बताउनुभयो ।