नवीनराज कुइँकेल
लमजुङ, पुस १५ गते । लमजुङ जिल्ला अदालतले विगतमा फैसला भई जरिवाना तोकिएको १० करोड ५० लाख ४७ हजार २६ रुपियाँ रकम असुल गर्न बाँकी रहेको छ । लमजुङ जिल्ला अदालतमा गत कात्तिक मसान्तसम्म यतिका रकम असुल गर्न बाँकी रहेको छ ।
अदालतमा मुद्दाको फैसलामा जरिवाना लिनुपर्ने व्यक्तिबाट करोडौँको रकम असुल गर्न अदालतले अझै सकेको छैन । कैद भुक्तान जरिवाना असुली पनि उत्तिकै रहेको छ । अदालतले फैसला गरेका जरिवानामा मात्रै नभई थुप्रै वर्ष कैद असुली पनि बाँकी देखिएको छ ।
अदालतमा कात्तिक मसान्तसम्म तीन सय ४३ वर्ष नौ महिना १३ दिन कैद जरिवाना असुल गर्न बाँकी रहेको छ । आफैले गरेको फैसलाको जरिवाना असुली गर्न नसकेको कारण अदालत न्यायिक सम्पादनमा छरितो र प्रभावकारी देखिए पनि असुलीमा सुस्त रहेको अनुमान गर्न सकिने कानून व्यवसायीहरू बताउँछन् ।
यसरी असुलीमा ढिलाइ हुनुमा जनशक्ति अभाव तथा जरिवाना तिर्ने व्यक्तिको मृत्यु भएको अदालतले दाबी गर्दै आएको छ । दण्ड जरिवानाबापतको रकम उठाउने जिम्मेवारी प्रहरीको भए पनि दण्ड जरिवाना लागेका कतिपय अभियुक्तको मृत्यु भएका कारण जरिवानाको लगत उठ्न नसकेको हो ।
लमजुङ अदालतमा गत वर्षबाट जिम्मेवारी सरेर आएका तीन सय ४८ र नयाँ दर्ता दुई सय ४८ गरी जम्मा मुद्दा पाँच सय ९६ वटा रहेकोमा अदालतले मङ्सिर मसान्तसम्म दुई सय ७५ वटा मुद्दा फर्छ्यौट हुने लक्ष्य रहेकोमा तीन सय ८६ मुद्दा फर्छ्यौट गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिरसम्म दुई सय ७५ वटा मुद्दा फर्छ्यौट हुने लक्ष्य रहेकोमा तीन सय ८६ मुद्दा फर्छ्यौट भएसँगै ४० प्रतिशत मुद्दाको बढी छिनोफानो भएको हो ।