• १४ असार २०८१, शुक्रबार

सोलुखुम्बु बन्याे ५८ औँ साक्षर जिल्ला

blog

सोलुखुम्बुलाई साक्षर जिल्ला घोषणा

सन्तोष राउत

सोलुखुम्बु, असार २७ गते । सोलुखुम्बुलाई ५८ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण’ भन्ने नाराका साथ जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहको ९६.७३ प्रतिशत नागरिक साक्षर भएपछि घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले पेस गरेको साक्षर जिल्ला घोषणाको प्रस्तावमा प्रतिनिधि सभा सदस्य हेमकुमार राईले जिल्लालाई साक्षर घोषणा गर्नुभएको हो । सांसद राईले नीतिगत कमजोरीका कारण नेपालमा गुणस्तरीय शिक्षामा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले शिक्षित जिल्ला बनाउने जिम्मा शिक्षकको हातमा रहेको बताउनुभयो ।

समन्वय प्रमुख तथा साक्षरता अभियान सोलुखुम्बुका संयोजक कृष्णप्रसाद निरौलाले गुणस्तरीय शैक्षिक परिवर्तनका लागि राष्ट्रिय नीति परिवर्तन हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति तथा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले साक्षर जिल्लालाई निरन्तरता दिन सरोकारवालाहरु निरन्तर सक्रिय रहनुपर्ने आवश्यकता धारणा राख्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्षहरुले शैक्षिक नीति कार्यान्वयनमा फितलोपन देखिएकोमा चिन्ता व्यक्त गर्दै शिक्षामा लगानी गरेअनुसार अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताएका छन् । शिक्षाक्षेत्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला पक्ष गम्भीर बन्नुपर्ने जनप्रतिनिधिको भनाइ छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ का सचिव दीर्घराज मैनालीले सोलुखुम्बु साक्षर जिल्ला घोषणासँगै प्रदेश नै साक्षर बनेको बताउनुभयो । कार्यक्रममा शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई सम्मानका साथ प्रमाणपत्र प्रदान गरिएको छ ।