• ७ असार २०८१, शुक्रबार

निर्वाचनको मिति चाँडै घोषणा हुन्छ– मन्त्री राई

blog

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राई सडक शिलान्यासमा । तस्विर - गोविन्द शर्मा

गोविन्द शर्मा / सिराज खान

बाँके, असार २७ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले केही दिनमै प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । 

“सरकारले केही दिनमै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ”, बाँकेको डुडुवा गाउँपालिकामा सोमबार आयोजित सडक शिलान्यास कार्यक्रममा उहाँले भन्नुभयो,  “जुनसुकै समयमा पनि मिति घोषणा हुनसक्ने भएकाले मतदाता नामावलीमा नाम समावेश गराउन सबैजना लाग्नुहोस् ।”   

मन्त्री राईले लोकतन्त्रमा मतदाताको सबैभन्दा महत्वपूर्ण भूमिका रहने भएकाले उमेर पुगेका सम्पूर्ण नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गराउनुपर्ने भन्दै सहजीकरणका लागि राजनीतिक दलका स्थानीय नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । 

मन्त्री राईले मन्त्रालय मातहत सडक डिभिजन, हुलाकी सडक आयोजना लगायत कार्यालयका प्रमुखहरुलाई निर्देशन दिंदै छिटो भन्दा छिटो ठेक्का सम्झौता गरी समयभित्रै काम सम्पन्न गर्न गराउन आग्रह गर्नुभयो । 

नेपालगञ्ज – कोहलपुर सडकको सौन्दर्यकरण र नेपालगञ्ज – गुलरीया सडक स्तरोन्नति र पुराना सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न मन्त्री राईले निर्देशन दिनुभयो । 

सो कार्यक्रममा हुलाकी सडक आयोजनाका प्रमुख गगलबहादुर भण्डारी, सङ्घीय सडक अनुगमन कार्यालय, सुर्खेतका रुपकराज भण्डारी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, डुडुवा वडा नम्बर २, ३ र ४ का वडा अध्यक्षहरु दुर्गाप्रसाद बर्मा, आमोद तिवारी र सगिर खाँ तथा जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्मा र नेता भण्डारीलाल यादवलगायतको सहभागिता थियो । 

करिब २५ करोडको लागतमा निर्माण गरिने सो सडकको निर्माणकार्य दुई वर्षमा पूरा गर्ने गरी खड्का निर्माण सेवा बैजनाथ बाँकेले पाएको सडक डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख होमबहादुर एसीले बताउनुभयो ।