• ७ असार २०८१, शुक्रबार

ऋषिङ गाउँपालिकाद्वारा असल बुहारीलाई नगदसहित सम्मान

blog

असल बुहारीलाई सम्मान गरिँदै । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, असार २७ गते । तनहुँको एक गाउँपालिकाले अशक्त सासु र ससुरालाई राम्रोसँग हेरचाह गर्ने १६ जना बुहारीलाई सम्मान गरेको छ । असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत ऋषिङ गाउँपालिकाले सम्मान गरेको हो । 

सम्मान पाएपछि बुहारीहरु मख्ख परेका छन् । बुढेसकालमा सन्तानबाट टाढिनु र अपहेलित भई वृद्धाश्रमको बास बस्नुपर्ने बाध्यतामुक्त पालिका बनाउने परिकल्पनाअनुसार सम्मान गरिएको गाउँपालिकाको उपाध्यक्ष गिनुमाया थापा बताउनुहुन्छ । 

पालिकाको १२ औँ गाउँसभा तथा बजेट सार्वजनिक समारोहको अवसरमा हालै बुहारीहरुलाई सम्मान गरेको थियो । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत टीका गोदारले संयुक्त रुपमा सम्मान गर्नुभयो । 

गाउँपालिकाका ८ वडाका प्रत्येक वडाबाट दुई जनाका दरले १६ असल बुहारीलाई नगद चार हजार रुपियाँसहित सम्मान गरिएको प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

यस्तै, ८ वडाका प्रत्येक वडाबाट चार जनाका दरले ३२ एकल पुरुषलाई नगद चार हजार रुपियाँसहित पुरस्कृत गरिएको छ । ५० वर्षमाथिका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिने अघिल्लो वर्षको नीति तथा कार्यक्रम बमोजिम उनीहरूलाई नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । ८ वटै वडाका ६४ ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केतसहित सम्मान गरिएको छ ।

गाउँपालिकाको बजेट पारित 

यसैबीच, गाउँपालिकाले आगामी आव २०७९÷८० का लागि ४९ करोड ९९ लाख ४९ हजार रुपियाँको बजेट पारित गरेको छ । सङ्घीय सरकार समानीकरण अनुदानतर्फ रु ११ करोड १३ लाख, सङ्घीय सरकार शसर्त अनुदानबाट रु २३ करोड ५१ लाख, प्रदेश सरकार समानीकरण अनुदानबाट रु एक करोड २६ लाख ५६ हजार, सङ्घीय सरकार राजस्व बाँडफाँटबाट रु १० करोड ३४ लाख ८८ हजार, प्रदेश सरकार राजस्व बाँडफाँटबाट रु ७४ लाख पाँच हजार, आन्तरिक आय रु. एक करोड १० लाख, प्रदेश सरकार विशेष अनुदानबाट रु ५० लाख, समपूरक अनुदानबाट रु ५० लाख आम्दानी हुने अनुमान छ । 

गाउँपालिकाले आर्थिक, पूर्वाधार, शिक्षा, सामाजिक चेतना विकास तथा संस्कृतिलाई विशेष प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट बनाएको गाउँपालिकाका प्रवत्ता दरै बताउनुहुन्छ ।