• ७ असार २०८१, शुक्रबार

निःशुल्क सेनेटरी प्याड, गुनासो सुन्ने टोल फ्रि र महिला सेल व्यवस्था गर्न माग

blog

जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष युवराज केसी, तस्विर - तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार २७ गते । किशोरीलाई महिनावारी हुँदा सरकारी सबै कार्यालयहरु र सार्वजनिक स्थानमा समस्या आउने गरेको भन्दै निःशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था गर्न माग गरिएका छन् ।

चन्द्रकोट गाउँपालिकाका मनिषा घर्तीले सार्वजनिक स्थान र कार्यालयहरुमा निःशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गर्नुभएको छ । उहाँले किशोरीहरु  महिनावारी हुँदा सरकारी कार्यालय र सबै सार्वजनिक स्थलमा निःशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था नहुँदा विभिन्न समस्या झेल्नुपरेको गुनासो गर्नुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उहाँले सरकारी स्वास्थ्य संस्था र अस्पतालहरुमा नागरिकहरुको विश्वास कम हुँदै गएकाले गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउन स्थानीय सरकारले पहल गर्न जोड दिनुभयो ।

सरकारी स्वास्थ्य संस्थाहरुमा भन्दा निजी क्लिनिकहरुमा सेवाग्राहीको भीड लाग्ने गरेको भन्दै गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

चन्द्रकोट गाउँपालिकाकी महिला नेत्री अन्जु पुनले महिलाले सार्वजनिक रुपमा आफूहरुका समस्या राख्न नसक्ने गरेको भन्दै गुनासो सुन्न गाउँपालिकाले निःशुल्क टोल फ्रि नम्बरको व्यवस्था गर्न सुझाव दिनुभयो । 

उहाँले स्थानीय सरकारले निःशुल्क यस्तो सेवा दिनुको साथै महिला सेलको व्यवस्था गरेर महिलाहरुका गुनासो र समस्याहरु राख्ने ठाउँ हुने बताउनुभयो ।  

चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ का थम्मनबहादुर बुढाथोकीले योजनाहरुमा काम गराउने र गर्नेहरुको ढिलासुस्तीका कारण समयमै निर्माणका कामहरु सम्पन्न हुन नसकेको गुनासो गर्नुभयो ।

गाउँपालिकाले समयमै योजनाहरुको अनुगमन गरेमा गुणस्तरीय र तोकिएकै समयमा योजना सम्पन्न हुने बताउनुभयो । प्राविधिकहरुले पनि योजनाहरु कार्यान्वयनको समयमा उचित समय दिन नसक्ने र हतारमा गरेका कामहरुले पछि समस्या आउने बताउनुभयो ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको बताउनुभयो । उहाँले अन्य सार्वजनिक स्थलहरु र सरकारी कार्यालयमा सेवा दिने बताउनुभयाे ।