• ८ असार २०८१, शनिबार

तोकिएका ठाउँमा मात्रै डिजिटल होर्डिङ बोर्ड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २७ गते । काठमाडौँ महानगरपालिकाले अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न दिने भएको छ । व्यवसायीले वस्तु तथा सेवाको प्रचार गर्ने नाममा सहरका संवेदनशील स्थानमा समेत आफूखुसी डिजिटल होर्डिङ बोर्ड राख्न थालेपछि महानगरले यस्तो गर्न लागेको  हो । 

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको छ । हाल महानगरपालिकासँग अनुमति लिएर राखिएका विज्ञापन सामग्रीलाई समेत आवश्यकताअनुसार स्थानान्तरण गरिनेछ ।

महानगरपालिकाको राजस्व विभागले यसअघि नै डिजिटल बोर्डको मापदण्ड निर्धारण तथा स्थान चयनको विषयमा नीतिगत व्यवस्था गर्नुपर्ने प्रस्ताव विधायन समितिमा गरेको थियो । कामपा राजस्व विभागका प्रमुख डा. शिव अधिकारीले नीति तथा कार्यक्रममै यो विषय उल्लेख भएपछि कार्यान्वयन प्रक्रियाअघि बढेको जानकारी दिनुभयो । 

अबदेखि डिजिटल तथा अन्य प्रकारका बोर्ड कस्ता ठाउँमा राख्न पाउने तथा बोर्डको आकार र शुल्क निर्धारणसमेत महानगर आफैँले गर्नेछ । यसको व्यवस्थापन राजस्व विभागले गर्नेछ । महानगरभित्र रहेका डिजिटल होर्डिङ बोर्डको यकिन सङ्ख्याका बारेमा महानगरपालिका अनभिज्ञ छ । महानगरभित्र करिब ४० वटा बोर्ड मात्र अनुमतिअनुसार राखिएको छ ।

अबदेखि डिजिटल तथा अन्य प्रकारका बोर्ड कस्ता ठाउँमा राख्न पाउने तथा बोर्डको आकार र शुल्क निर्धारणसमेत महानगर आफैँले गर्नेछ । यसको व्यवस्थापन राजस्व विभागले गर्नेछ । महानगरभित्र रहेका डिजिटल होर्डिङ बोर्डको यकिन सङ्ख्याबारे महानगरपालिका अनभिज्ञ छ ।

त्यस्ता बोर्डले सडकमा फाल्ने प्रकाशको मात्रा पनि निर्धारण गरिएको छैन । जसका कारण बटुवालाई आकर्षित गर्ने नाममा बोर्डबाट रङ्गीविरङ्गी प्रकाशका किरण फाल्ने गरिएको छ । तिलगङ्गा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बटुवाको स्वास्थ्य संवेदनशीलतालाई समेत बेवास्ता गर्दा यस्ता किरणले अदृश्य रूपमा आँखामा समस्या निम्त्याउने बताउनुभयो । अहिले कालीमाटी, टेकु, कलङ्की, नयाँ सडक, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, माइतीघर, थापाथली, बानेश्वर, कोटेश्वर, बौद्ध, लगनखेल, भक्तपुरलगायत थुप्रै स्थानमा बडेमानका डिजिटल बोर्ड राखिएका छन् । 

काठमाडौँ महानगरपालिकाले होर्डिङ बोर्डको अवधारणा हटाएपछि व्यापारीले त्यसको विकल्पका रूपमा डिजिटल बोर्डको सुरुवात गरेका हुन् । तर सहरलाई उज्यालो र रङ्गीन बनाउने नाममा व्यापारीले यसलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाइरहेका छन् । 

महानगरपालिकाको राजस्व विभागबाट स्वीकृति लिएपछि डिजिटल बोर्ड राख्न पाइने भए पनि बोर्ड राख्ने स्थान, त्यसले सिर्जना गर्ने प्रकाशको मापदण्ड तथा त्यस्ता बोर्डबाट प्रसारण गर्न पाइने विज्ञापनका सम्बन्धमा कुनै मापदण्ड छैन । महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार महानगरलाई सफा गर्ने अभियानअन्तर्गत डिजिटल तथा अन्य प्रकारका बोर्डको अनुगमन र नियन्त्रण गर्न थालिएको हो ।