• ८ असार २०८१, शनिबार

लोकमार्गले पहाडको मुहार फेर्दै

blog

विशाल सुनार

दुल्लू, असार २७ गते । मध्यपहाडी लोकमार्ग (पुष्पलाल) निर्माणसँगै दैलेख र जाजरकोट जिल्लाका  दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भइरहेका छन् । गाउँबस्तीमा यातायातको पहुँच पुगेसँगै थल बजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकम बजार आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन् । 

पूर्वी नेपालको पाँचथर जिल्लाको चियो भन्ज्याङदेखि मध्यपहाड हुँदै पश्चिम नेपालको बैतडी जिल्लाको झुलाघाटसम्म २६ पहाडी जिल्ला हुँदै निर्माणाधीन मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय विकासमा समेत योगदान दिन थालेको छ । एक हजार ८७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले २१५ बस्तीलाई जोडेको छ । मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनतालाई लाभ पु¥याउने लक्ष्यका साथ आयोजना निर्माण भइरहेको छ ।

भगवतीमाई गाउँपालिका–१ का ९३ वर्षीया देउराम थापाले भन्नुभयो, “मध्यपहाडी बनेसँगै गाउँमा भएको विकास त सपनाजस्तो भएको छ ।” पहिलेपहिले नुनतेलको जोहो गर्न हप्तौँ लगाएर नेपालगञ्ज, बर्दिया झर्नुपर्ने बाध्यता थियो । उहाँले ती दिन सम्झनुभयो, “पहाडका अप्ठ्यारा बाटा, घोप्टे भीर काट्दै बबई नदी, भेरी नदी तरेर, कट्टीको गल्छी पार गर्नुपथ्र्यो । तर, त्यस्ता भीर काटेर कालोपत्रे सडक आउँदा पुनर्जन्म भएको अनुभव भइरहेकोे छ ।”

उहाँले भन्नुभयो, “सपना होकी विपना भनेर विश्वास गर्न सकिँदैन । दुर्गमका ग्रामीण बस्तीका बीचमा रहेका दःुखको पहाड भत्किएका छन् ।”

मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत सर्वाधिक लामो १२५ किलोमिटर सडकखण्ड दैलेख जिल्लाभित्र पर्दछ । दैलेखमा भगवतीमाई गाउँपालिका–४, सुयडा क्षेत्रबाट प्रवेश गरी दैलेखका आठवटा पालिकालाई समेट्दै आठबीस नगरपालिका–३, बेलखेतबाट बाहिरिन्छ । जाजरकोटको छेडाघाट नगरपालिका–३, दशेराकी कलशी बुढाले समयमा उपचार नपाएर कयौँले अकालमै ज्यान गुमाएको स्मरण गर्दै भन्नुभयो, “तर, अब भने सानोतिनो बिमारीले ज्यानै फाल्नुपर्दैन । भीर काटेर बाटो आयो, भाग्य आएको जस्तो लागेको छ ।”

लोकमार्गले पहाडका अक्करे भीर मात्र होइन नदीले अलग्गिएका दुई किनाराका बस्तीलाई समेत जोडेको छ । नारायण नगरपालिका–११, लोहोरे खोलामा मध्यपहाडी आयोजनाले निर्माण गरेको पक्की पुल नजिकै होटेल व्यवसाय गर्र्दै आएका अमृतकुमार रावतले भन्नुभयो, “सुनसान गाउँहरू बजार बन्दै गएको छन् ।

स्थानीय उत्पादनले बजार पाएको छ । घरघडेरीको मूल्यसंँगै वित्तीय संस्थाहरूले लगानी पत्याउन थालेका छन् ।” भगवतीमाई नगरपालिका–४, मनघरकी वसन्ता थापाले लोकमार्ग निर्माण कार्यमा संलग्न हुनुहुन्छ । उहाँले भन्नुभयो, “पुरुषहरू रोजगारीका लागि भारतलगायत देश पुगेका छन् । हामी घरमै परिवार धानेर अयोजनामा काम पाएका छौँ ।”

रोजगारी र अवसरको खोजीमा होस् या अभावका कारण परिवारसहित हुने बसाइँसराइ निरुत्साहित गर्न पनि यो आयोजनाले ठूलो सहयोग गरेको छ । स्थानीय नागरिक रोजगारीमा जोडिएका छन् । स्थानीय पुरुषहरू मात्र नभएर प्रत्येक घरका महिला रोजगारीमा जोडिएका छन् ।

रुकुमपश्चिम, जाजरकोट, दैलेख र अछामकोे बीचबाट पूर्व–पश्चिम भएर सडक निर्माण भएपछि नेपाल सरकारले तय गरेका एक सयवटा पर्यटकीय गन्तव्यको सूचीमा परेका पर्यटकीय क्षेत्रमध्ये छवटा गन्तव्यसमेत यस लोकमार्गमा जोडिएका छन् । आन्तरिक वा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।

आयोजना कार्यालयका लेखा अधिकृत भूपेन्द्रबहादुर मल्लका अनुसार आर्थिक र भौतिक प्रगति सन्तोषजनक छ । टेन्डर प्राप्त गरेका छवटामध्ये दुईवटा खण्डको काम समयअगावै सम्पन्न भएका छ । यस्तै चारवटा खण्डको प्रगति ९५ प्रतिशतभन्दा बढी छ । कुम्री र रुमखोलाको पुलको हकमा भने सपना आरभी जेभीले नौ करोड २७ लाख रुपियाँमा टेन्डर प्राप्त गरेको र सो पुल निर्माणको ९५ प्रतिशत काम तोकिएको समयअगावै सम्पन्न हुने अवस्थामा छ ।

लोहोरेखोलादेखि जाजरकोट जिल्लाको थलागाडसम्म ५२ किलोमिटर सडक कालोपत्रेसहित स्तरोन्नति कार्य भइरहेको छ । छवटा निर्माण कम्पनीको ठेक्का रकम कुल दुई अर्ब ६५ करोड रुपियाँ रहेको आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताउनुभयो ।

आयोजना प्रमुख युवराज पोखरेलका अनुसार पुष्पलाल लोकमार्ग योजना कार्यालय दैलेखअन्तर्गत पूर्र्वीरुकुम, पश्चिमरुकुम, जाजरकोट, दैलेख र अछाम गरी पाँच जिल्ला यस योजना कार्यालयको कार्यक्षेत्रअन्तर्गत पर्दछ । रुकुमपूर्वदेखि अछामसम्म योजनाको जिम्मेवारीमा रहेको करिब ४४० किलोमिटर सडक आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई गति दिइएको बताइएको छ ।