• ११ पुस २०८२, शुक्रबार

आठौं बागलुङ महोत्सव आजदेखि सुरु हुँदै

blog

ध्वजापतकाले सिंगारिएको लोकतान्त्रिक चोक । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, पुस ११ गते ।
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ औँ बागलुङ महोत्सव शुक्रबारदेखि सुरु हुँदैछ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

महोत्सव बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित बाङेचौर खेल मैदानमा हुने भए पनि व्यापारिक कारोबार हुने बागलुङ बजारलाई दुलहीझैं सिङ्गारिएको छ । स्थानीय व्यवसायीको सक्रियतामा बजारका हरेक चोकमा घडा राखेर पाहुनालाई स्वागत गरिएको छ भने ध्वजापतकाले सिङ्गारिएको छ ।

जिल्लाकै ठुलो मेलाको रुपमा लिइने महोत्सवलाई आर्कषक बनाउन संघले विशेष पहल गरेको छ । त्यसका लागि संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मुल समारोह समिति गठन भएको छ भने अन्य क्रियाकलापलाई दुई दर्जन उपसमिति बनेका छन् ।

महोत्सवमा दुई सय व्यवसायिक स्टल रहने जनाइएको छ । त्यस बाहेक महोत्सवमा कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताका साथ र कृषिको हकमा निःशुल्क स्टल दिइने भएको छ । यो पटक महोत्सवमा सुन्तलामय बनाउने लक्ष्य राखिएको छ ।

महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पुरुषतर्फ गण्डकी प्रदेशका पालिकास्तरीय खेल हुने छन् । अहिलेसम्म १० टिमले दर्ता गरेर खेलका लागि तयारी गरेको पुरुष भलिबल खेल संयोजक अकिल बहादुर क्षेत्री ‘धु्रव’ले जानकारी दिनुभयो । महिला भलिबल संयोजक सृजना राजभण्डारीका अनुसार, गण्डकी प्रदेशस्तरीय महिला भलिबलमा अहिलेसम्म सात टिम सहभागि जनाउने पक्का भएको छ ।

पुस १६ गते पर्यटन मन्त्रीको उपस्थितिमा बागलुङ पर्यटनसम्बन्धी चर्चा हुने र फोटो प्रदर्शन हुने संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो । यस्तै, महोत्सवमा टिकटक, कथा वाचन प्रतियोगिता जस्ता नवप्रवर्दनात्मक कार्यक्रम पनि समावेश छन् । त्यसका लागि विद्यालयका विद्यार्थीलाई बागलुङको पर्यटन, उद्योगको क्षेत्रको सकारात्मक सन्देश जाने खालका कथा तयारीमा जिम्मा समेत दिइएको छ ।

लोकदोहोरी गीत प्रतियोगिता त महोत्सवको अर्को आर्कषणकै विषय हो । यो पटक खुला लोकदोहोरी गीत प्रतियोगितासहित राष्ट्रिय कलाकारहरुको नियमित प्रस्तुती पनि रहनेछ । अघिल्लो महोत्सवमा लोकदोहोरी प्रतियोगिता नराख्दा ग्रामीण क्षेत्रका दर्शकहरुले आलोचना समेत गर्नुभएको थियो । अब भने यो समस्या नरहने संघले जनाएको छ ।

बागलुङस्थित बाङेचौरमा गरिने महोत्सवको टिकटबाट बागलुङ उद्योग वाणिज्य संघले मानवसेवा आश्रम, नेपाल पत्रकार महासंघ लगायतलाई सहयोग गर्ने बताएको छ । गत कात्तिकमा भएको महायज्ञमा संघले पाँच लाख दिने घोषणा गरेको थियो । महोत्सवबाट रकम बचाएर दिने योजना बनेको संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो ।